फागुन ०८२ देखि दोस्रोपटक आर्थिक गणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले यो अभियान देशभर सञ्चालन गर्ने जनाएको छ । पहिलोपटक वैशाख ०७५ मा भएको आर्थिक गणना दाेस्राेपटक आगामी वर्षको फागुनदेखि हुने भएको हो ।
संघ प्रदेश तथा स्थानीय तहसम्म प्रतिष्ठान तथा व्यवसायहरूको व्यावसायिक क्रियाकलापसम्बन्धी आधारभूत तथ्यांक संकलन गर्नुका साथै व्यावसायिक प्रतिष्ठानको कुल संख्या, प्रतिष्ठानको वैधानिक स्थिति, वैदेशिक पुँजीको लगानी, कुल स्थिर सम्पत्तिमा भएको लगानीलगायत विषयमा सर्वेक्षण गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गर्न लागिएको छ ।
साथै, लिंगअनुसार रोजगारीको स्थिति, प्रतिष्ठानको ऋणमा पहुँचलगायतका सूचक पत्ता लगाउन गणना गर्न लागिएको तथ्यांक समन्वय कार्यालय बागलुङले जनाएको छ।
आर्थिक गणना अभियानमा गैरकृषि आर्थिक क्रियाकलापहरू सञ्चालन गर्ने सबै प्रकारका प्रतिष्ठानहरू र कृषि क्षेत्रको दर्ता गरिएका प्रतिष्ठानहरू नेपालस्तरीय औद्योगिक वर्गीकरणअनुसारका विभिन्न वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठान र व्यवसायहरूलाई गणनामा समावेश गरिएको गरिने तथ्यांक समन्वय कार्यालय बागलुङका तथ्यांक अधिकृत चन्द्रकान्त सुवेदीले जानकारी दिए । कार्यालयका अनुसार निश्चित स्थानमा आर्थिक क्रियाकलाप सञ्चालन गर्ने स्थिर प्रवृत्तिका प्रतिष्ठानहरूलाई आर्थिक गणनाको परिधिमा समेटिनेछ ।
तथ्यांककै आधारमा योजना तर्जुमा तथा नीति निर्माण हुने भएकाले स्थलगत भ्रमण र अध्ययनपछि प्राप्त हुने तथ्य भरपर्दो र विश्वासिलो हुने अपेक्षा गरिएको छ । सोहीअनुसार गणकहरू व्यवस्थापन गरेर सम्बन्धित प्रतिष्ठानमा नै पुगेर गणना गरिने तथ्यांक समन्वय कार्यालय बागलुङका प्रमुख महेशप्रसाद ढुंगानाले जानकारी दिए ।
तथ्यांक ऐन ०७९ अनुसार हरेक क्षेत्र र वर्गबाट संकलित आर्थिक विवरण गोप्य रहनेसमेत ढुंगानाले जानकारी दिए । ‘आर्थिक गणना केही जटिलता पनि हुन्छ । सबै विवरण गोप्य रहनेछ ।’ कार्यालय प्रमुख ढुंगानाले भने, ‘यो नेपाल सरकारको प्राथमिकताको कार्यक्रम हो । कोही कसैले आफ्नो विवरण लुकाउन पनि पाउँदैन र उहाँहरूले प्रदान गरेको विवरण गोप्य पनि राख्नेछौँ ।’
उनले वित्तीय तथा बिमा, सूचना सञ्चार, कृषि, वन, माछापालान, खानी उत्खनन्लगायतका २१ वटा आर्थिक वर्गीकरणका सूचकहरू रहे तापनि विभिन्न १८ वटा सूचकमा आर्थिक गणना हुने बताए।
गणनासम्बन्धी जानकारी दिन आज आयोजित अन्तर्क्रियामा बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले वर्गीकरणमा परेको क्षेत्रहरू छुट्न नहुने बताए।
यस्तै, बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजनकुमार श्रेष्ठ, पत्रकार महासंघका सचिव नारायण रिजाल, सहसचिव डम्मर बुढामगरले गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए।