बर्दिया अस्पतालमा जनशक्ति अभावले अक्सिजनसहितको एचडियू तथा आइसियू सेवा सञ्चालन हुन सकेको छैन । करिब साढे दुई करोडको लगानीमा बनेको एचडियू र आइसियू सेवा जनशक्ति अभावले सञ्चालन हुन नसकेको हो । अस्पतालमा रहेको एचडियू तथा आइसियू सेवाका लागि तयार गरिएको संरचना तथा मेसिन प्रयोग नहुँदा बिग्रिँदै गएको छ ।
दैनिक सयको संख्यामा उपचार सेवा दिँदै आएको अस्पतालले जनशक्ति अभाव भोग्दै आएको छ । अस्पतालले ओपिडी, इमर्जेन्सी, सर्जिकल ओपिडी/इन्डोसकोपी सेवा, प्रसूति तथा स्त्रीरोग, फिजियोथेरापीलगायतको सेवा प्रदान गर्दै आएको छ । अस्पतालले कोभिड–१९ संक्रमण बढेपछि स्थानीय निकाय सहयोग र अस्पतालको आफ्नो लगानीमा २५ शड्ढयाको एचडियू र आइसियू सेवा सञ्चालनका लागि संरचना तयारी भएको हो । जनशक्ति अभाव हुँदा तीन वर्षभन्दा बढी समयदेखि सेवा सञ्चालन हुन सकेको छैन ।
अस्पतालमा आर्थिक वर्ष ०८०/८१ मा एक लाख १९ हजार ४३२, ०७९/८० मा एक लाख १५ हजार ७१८, ०७८/ ७९ मा एक लाख सात हजार ४७८, ०७७/७८ मा ४५ हजार ९९६ जनाले उपचार सेवा लिएका छन् ।
बर्दिया अस्पतालका मेडिकल रेकर्डर एवं सूचना अधिकारी केशव न्यौपानेले अस्पतालमा ५९ जनाको दरबन्दी रहेको बताए । ‘अस्पतालमा रहेको ५९ जनाको दरबन्दीमध्ये २९ जनाको पदपूर्ति भएको छ, त्यसमध्येबाट नौजना अध्ययन बिदा तथा बेतलबी बिदामा रहेकाले हाल २० जना मात्र कार्यरत छन् । अस्पतालमा थप सेवा प्रदान गर्न मेडिकल अधिकृत, नर्सिङ स्टाफ र कार्यालय सहयोगीको आवश्यकता छ ।’
अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले एचडियू र आइसियू सेवा सञ्चालनको सम्पूर्ण संरचना तयारी भए पनि जनशक्ति अभावले सेवा सुचारु हुन नसकेको बताए । ‘एचडियू र आइसियू सञ्चालन गर्दा चौबिसै घण्टा सेवा दिनुपर्ने हुन्छ । अस्पतालमा जनशक्ति अभाव छ । यसलाई सञ्चालन गर्न अस्पतालको स्रोतले पुग्दैन । प्रदेश वा स्थानीय तहले जनशक्ति व्यवस्थापन गर्न सके सेवा सुरु गर्न सकिन्छ,’ उनले भने । अस्पताल ५० शड्ढयाकोे भए पनि बिरामीको चाप बढ्दा ८० शड्ढयासम्मको उपचार सेवा दिँदै आएको छ । पाण्डेले समयअनुकूल, जनसंख्याको अनुपात र सेवाग्राहीको संख्या हेरेर जनशक्ति व्यवस्थापन हुनुपर्ने बताए ।