भ्रमण वर्षभर पोखराका १५ व्यावसायिक संस्थाले गरे १० देखि २० प्रतिशतसम्म छुट दिने घोषणा
२० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गरिएको छ । शनिबार पोखरामा आयोजित घोषणा सभामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेका हुन् । घोषणा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायतको उपस्थिति थियो ।
४ चैत ०८० मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । भ्रमण वर्ष घोषणा गर्नुअघि पोखरा रंगशाला, पोखरा सभागृह र चिप्लेढुंगाबाट निस्किएको झाँकीसहितको ¥याली पोखरा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा आएर औपचारिक समारोहमा परिणत भएको थियो ।
यस्ता छन् भ्रमण वर्षका प्याकेज
भ्रमण वर्षभर विभिन्न १५ संस्थाले पर्यटकलाई दिने सेवा–सुविधामा १० देखि २० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागार्इंका अनुसार सबैभन्दा धेरै होटेल संघ पोखराले आवासमा २० प्रतिशत छुट दिने भएको छ ।
त्यसैगरी रेवान पोखराले खाजा–खानाको छुट्टै मेनु व्यवस्था गर्ने, नाटा गण्डकीले टुर प्याकेजमा १५, टान गण्डकी पदयात्रा प्याकेजमा १५, बेलुन नेपालले हट एयर बेलुन उडानमा १५, हाई ग्राउन्ड नेपालले बन्जी/जिपलाइन/एटिभी/स्काई स्किमर १५, पोखरा अल्ट्रालाइटले १५, एभिया क्लब पोखराले अल्ट्रालाइट उडानमा १५, प्याराग्लाइडिङ उडानमा १०, पोखरेली ट्याक्सी सेवा प्रालिले ट्याक्सी सेवामा १०, एगा पोखराले गार्मेन्ट सामान खरिदमा १५, टेसा पोखरा ट्रेकिङका सामान खरिदमा १०, नारा पोखरा जलयात्रामा १०, नेपाल पर्वतारोहण संघले पर्वतारोहणमा १०, ग्रामीण घरवास कार्यक्रम (महानगरभित्र) होमस्टेमा १५ प्रतिशत छुट दिने औपचारिक जानकारी गराएका छन् ।
यसबाहेक महानगरपालिकाले पर्यटकको सुविधालाई मध्यनजर गरी सबै खाले पर्यटनमैत्री सेवामा विशेष छुट सुविधाको पहल गर्ने चौलागाईंले जानकारी दिए । विमान कम्पनीले समेत यस अवधिमा छुट दिने तयारी गरेको र केही दिनमा घोषणा हुने उनले जानकारी दिए ।
भ्रमण वर्षमा हुनेछन् यी काम
भ्रमण वर्षको अवधिमा पोखरामा स्वदेशी र विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । पोखराको अर्थतन्त्रलाई चलायमान बनाउँदै यो वर्षलाई आधार वर्षका रूपमा लिने, नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी कम्तीमा एक वडा एक पर्यटकीय गन्तव्य स्थापित गर्ने, स्वदेशका पाँच र विदेशका पाँच गरी १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने, पोखरामा लगानी टुरिजम इन्भेस्मेन्ट समिट आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थालाई पोखरामा बैठक, इभेन्ट तथा भ्रमणका लागि अनुरोध गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशका विभिन्न सहरसँग सीधा उडानका लागि सम्पर्क र समन्वय गर्ने, सार्वजनिक यातायातलाई थप व्यवस्थित गर्ने महानगरको लक्ष्य छ ।
त्यस्तै, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाइड दु्रतमार्ग, हेरिटेज साइड, पन्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अर्गानिक ट्रेल तथा रोयल ट्रेलको पुनरुत्थानलगायत पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण तथा सुरुवात गर्ने, स्थानीय व्यवसायको प्रवर्द्धन, पोखराको ब्रान्डिङ, अर्थतन्त्रको विकास, दिगो पर्यटन विकास, पर्यटकीय राजधानी स्थापित गर्न निजी क्षेत्र, सरकारी, गैरसरकारी संस्था, नेपाल पर्यटन बोर्ड, कूटनीतिक नियोग, एनआरएनएलगायत संस्थासँगको साझेदारीमा गर्ने प्रमुख आचार्यले जानकारी दिए ।