दसाैँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शीर्षस्थानमा पुगेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगिताअन्तर्गत हालसम्म नतिजा आएका खेलहरूमा कैलाली प्रथम स्थानमा रहेको छ ।
हालसम्म सम्पन्न छनोट प्रतियोगितामा १७२ स्वर्ण, १४१ रजत र १५५ कांस्य गरी ४६८ पदकको टुंगाे लागेको छ । छनोट प्रतियोगितामा कैलालीले सबैभन्दा बढी १४२ पदक प्राप्त गरेकामा ७५ वटा स्वर्ण पदक रहेका छन् ।
अंकतालिकाको दोस्रो स्थानमा रहेको कञ्चनपुरले ६४ स्वर्ण, ४२ रजत र २४ कांस्य गरी १३० पदक प्राप्त गरेको छ । तेस्रो स्थानमा रहँदै डडेल्धुराले नौ स्वर्ण, १० रजत र २४ कांस्य पदक प्राप्त गरेको छ ।
प्रदेशका नौ जिल्लाले सहभागिता जनाएको छनोट प्रतियोगिताको चौथो स्थानमा बझाङ रहेको छ । बझाङले नौ स्वर्ण, आठ रजत र १० कांस्य पदक पाएको छ । पाँचौँ स्थानमा रहेको बाजुराले ६ स्वर्ण, ६ रजत र १८ कांस्य पदक पाएको छ भने छैटौँ स्थानमा रहेको दार्चुलाले तीन स्वर्ण, नौ रजत र २२ कांस्य पदक प्राप्त गरेको छ । बैतडी, डोटी र अछाम क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् ।
दसाैँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७७८ खेलाडीले सहभागिता जनाउनेछन् । यस्तै, ४५० जना निर्णायक पनि सहभागी हुनेछन् ।
सुदूरपश्चिम प्रदेशले दसाैँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलहरू गरिरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए ।