कोशी प्रदेश सभामा गुन्जियो ‘जनयुद्ध जिन्दावाद’ नारा

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

कोशी प्रदेश सभाको बैठकमा सांसदहरूले जनयुद्ध जिन्दावादको नारा गुन्जाउँदै शुभकामना दिएका छन्।  ३०औँ जनयुद्ध दिवसको सन्दर्भमा शुक्रबार दोस्रो कोशी प्रदेश सभाको छैटाैँ अधिवेशनको १३औँ बैठकमा सहभागी माओवादी केन्द्रका सांसदहरूले शून्य र विशेष समय लिएर बोल्दै जनयुद्ध जिन्दावाद भन्दै सबै सांसदहरूलाई शुभकामना दिएका हुन् । 

माओवादी केन्द्र संसदीय दलको तर्फबाट विशेष समयमा बोल्दै सांसद दुर्गा चापागाईंले जनयुद्ध नभएको भए अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको परिवर्तन सुनिश्चित हुने थिएन भन्दै जनयुद्धलाई हिंसा भनेर बदनाम नगर्न आग्रह गरे । उनले अझै जनताको पक्षमा पूर्ण रूपको संविधान बनिनसकेको र संघीयता पनि पूर्ण कार्यान्वयन हुन बाँकी नै भएकाले सबैले जनताले जनताका लागि गरेको जनयुद्धलाई बदनाम हाेइन सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । तेह्रथुमबाट निर्वाचित सांसद दुर्गा चापागाईंले भने, ‘यसैले महान् सहिदहरू लालसला, जनयुद्ध जिन्दावाद।’

माओवादी केन्द्रकी सांसद तथा प्रमुख सचेतक गीता तििम्सनाले शून्य समयमा बोल्दै जनयुद्ध नभएको भए संसद् र सरकारी निकायहरूमा महिलाहरूको सहभागिता सुनिश्चित हुने सक्ने थिएन भनिन् । उनले आफू पनि १८ वर्षकै उमेरमा परिवर्तनका लागि जनयुद्धमा लागेको स्मरण गर्दै सांसद तिम्सिनाले जनयुद्धलाई हिंसा भन्नेहरूलाई गद्दारहरूको संज्ञा दिइन। 

माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले शून्य समयमा बोल्दै १ फागुन ०८१ का दिन परिवर्तनका लागि भएको जनयुद्धको तीस वर्ष लागेको भन्दै महान् जनयुद्ध जिन्दावाद भन्दै कविता वाचन गरेर सबैलाई शुभकामना दिए । 

माओवादी केन्द्रकी सचेतक सपना दर्जीले महान् जनयुद्ध हिंसा नभएर जनताले समानताका लागि लडेको न्यायको लडाइँ थियो भन्दै अहिलेको संविधान, गणतन्त्र, समानुपातिक समावेशिता आदि सबै जनयुद्धकै प्रतिफल भएकोे र फल खान अगाडि सर्ने, तर जनयुद्धलाई हिंसा भन्नु पराजित मानसिकता भएको बताइन् । 
सोलुखुम्बुका सांसद गोम्बु शेर्पाले पनि शून्य सययमा बोल्दै जनयुद्धलाई जनताको महान् युद्ध भन्दै सहिद, बेपत्ता र घाइते परिवारलाई निःशुल्क आवास र उपचारको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । 

माओवादी सांसद बन्दना झाँगडले जनयुद्धमा सहभागी भएर जीवन त्याग गर्ने सहिदहरूको बलिदानलाई कसैले पनि उपेक्षा गर्न हुँदैन भनिन्। उनले जनयुद्धकै कारण आफू र आफूजस्ता शोषित, पीडित पिछडिएका वर्गहरू शासनको सत्तामा आउन पाएकोमा सबैले जनयुद्धलाई धन्यवाद दिन आग्रह गरिन् । 

खोटाङका सांसद राजेन्द्र किराँतीले हरेक राजनीतिक आन्दोलनमा सहभागी भएको एक मात्र आन्दोलन जनयुद्ध मात्र भएको दाबी गरे । उनले जनताले जनताका लागि लडेकै कारण जनयुद्ध महान् भएको बताए। सांसद राईले जनयुद्धलाई हिंसा भन्नेहरूले कांग्रेसले सात सालमा र मालेले ०२८ सालमा गरेको सशस्त्र आन्दोलनलाई चाहिँ के भन्ने ? भनेर प्रश्न गरे । उनले हिंसा भनेर जनयुद्धलाई बदनाम गराएर बहिष्कार गराउने  दुष्प्रयास सफल हुन नसक्ने दाबी गरे ।  

सुझावित समाचार