त्रिवि मैदानमा फ्लड लाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान तथा प्यारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ।

बिहीबार सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय मापदण्डको फ्लड लाइट र प्यारापिट निर्माणका लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरिएको जनाएको छ।

सहरी विकास मन्त्रालयले ५ मंसिरमा सूचना आह्वान गरेको थियो । फ्लड लाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६५३ रुपैयाँमा ठेक्का पाएको छ। प्यारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगालले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँको बोलपत्र स्वीकृत भएको हो।

यसअघि प्रधानमन्त्री केपी ओलीले आफूले पदभार ग्रहणपछि त्रिवि मैदानको स्तरोन्नति गर्ने निर्णय गरेका थिए। उनले ३०० दिनभित्र सबै काम सम्पन्न गर्न निर्देशन दिएका थिए। यो मैदान पहिला त्रिभुवन विश्वविद्यालयमातहत नै थियो। कानुनी अड्चनबिच काम नहुँदा सरकारले नै सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम अघि बढाएको हो।

नेपालले आइसिसी पुरुष विश्वकप लिग–२ मा चार वर्षको मान्यता पाएपछि सरकारको ध्यान त्रिवि मैदानमा पुगेको थियो। पछिल्लो समय नेपालले टी–२० विश्वकप र एकदिवसीय विश्वकप खेलेपछि नेपाली क्रिकेटको चर्चा सर्वत्र छ।

तर, सरकारले नै बनाउन थालेको मूलपानी तल्लो क्रिकेट मैदानले एक दशक पार गरे पनि अझै पूर्ण हुन सकेको छैन। मैदानको आधा भागको काम अझै बाँकी छ।

सुझावित समाचार