धनगढीमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ। विद्यालयबाट फर्किरहेकी बालिकालाई त्रास देखाएर १८ वर्षीय युवकले बलात्कार गरेको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका घर भई धनगढी बैय्याबेहडी बस्दै आएकी ती बालिका धनगढीकै एक विद्यालयमा कक्षा सातमा अध्ययनरत छिन्। प्रहरीका अनुसार बिहीबार साँझ विद्यालयबाट फर्कने क्रममा युवकले चक्कु देखाएर तर्साउँदै घरमा लगेर बलात्कार गरेको आराेप छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले आरोपी युवकविरुद्ध बालिकाले शनिबार किटानी जाहेरी दिएपछि घटनाबारे जानकारी भएको बताए। जाहेरीपछि युवक फरार रहेको बोहराले बताए। ‘बिहीबार साँझको घटना रहेछ। थप अनुसन्धान भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक बोहराले भने, ‘आरोपित युवक फरार छन्। उनको खोजी गरिरहेका छौँ।’