गृहमन्त्रीलाई कारबाहीको माग गर्दै दलित अधिकारकर्मीद्वारा कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण

अन्तरजातीय विवाह गरेका जोडीमाथि प्रहरी लगाएर ज्यादती गरेको भन्दै दलित अधिकारकर्मीले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् । शरीरमा नेल लगाएर अधिकारकर्मी खगेन्द्र सुनार नेतृत्वको टोली माइतीघरबाट पैदल नै सानेपासम्म पुगेर प्रदर्शन गरेको हो । 

उनीहरूले गृहमन्त्री रमेश लेखकमाथि कारबाहीको माग गरेका छन्। कारबाही नगरे थप आन्दोलन चर्काउने भनेर ‘चेतावनीपत्र’ बुझाएका छन् । 

अन्तरजातीय विवाह गरेका सर्लाही बरहथवाका सत्येन्द्रकुमार राम र नेहा राैनियारलाई प्रहरीले पटक-पटक पक्राउ गरी यातना दिएको आरोप लागेको छ । गृहमन्त्रीकै निर्देशनमा मुम्बईसम्म प्रहरी पठाएर पक्राउ गरिएको पीडितहरूले बताएका छन् । 

यो घटनामा गृहमन्त्री र प्रहरीमाथि छानबिन गर्न शुक्रबार पनि संसदमा आवाज उठेको छ । सांसदहरू प्रकाश ज्वाला, नारायणी शर्मा लगायतले छानबिनको माग गरेका हुन्। 

राष्ट्रिय मानव अधिकार आयोगले घटनाको अनुसन्धान गरिरहेको छ । सर्लाही कांग्रेसका नेताहरूको दबाबमा गृहमन्त्रीले प्रहरी लगाएर उनीहरूमाथि पक्राउ गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनीहरूलाई छुटाउनकै लागि पक्राउ गर्नेदेखि बालविवाहको मुद्दासमेत दायर गरिएको अधिकारकर्मीले बताएका छन् ।

सत्येन्द्र र नेहाको विवाहलाई सर्वाेच्च अदालतले समेत वैधानिकता दिइसकेको छ । तर, सत्येन्द्रविरुद्ध बालविवाहको मुद्दा जिल्ला अदालत, सर्लाहीमा कायमै छ । प्रहरीबाटै असुरक्षित भएको भन्दै उनीहरू अझै भूमिगत बस्न बाध्य छन् । 
 

सुझावित समाचार