विपिन जोशीको रिहाइ प्रयास : इजरायली राष्ट्रपतिसँग राजदूतको फोनवार्ता

बिहिबार, २४ माघ, २०८१
डिजिटल संस्करण

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि इजरायली राष्ट्रपति इसाक हरजोगसँग टेलिफोन संवाद गरेका छन् । बुधबार अपराह्न भएको फोनवार्तामा इजरायली राष्ट्रपति हरजोगले नेपाली नागरिक जोशीसहित हमासको बन्धक अवस्थामा रहेका सबैलाई सुरक्षित मुक्त गर्न हरसम्भव प्रयास भइरहेको जवाफ दिएका छन् । 

जोशी २० असोज ०८० देखि हमास समूहको नियन्त्रणमा छन् । हमासको नियन्त्रणमा रहेका पाँचजना थाई नागरिकको मुक्तिसँगै जोशी मुक्त हुने आशा नेपाल सरकारको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि यसअघि इजरायलका समकक्षी गिडिओन सारसँग जोशी रिहाइको प्रयास गरिदिन टेलिफोनमा कुराकानी गरेकी थिइन् ।

‘जोशी जीवित छन् र उनको उद्धारको प्रयास जारी छ भन्ने सन्देश इजरायलबाट आएको हुनाले हामी आशावादी छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने । नेपाली कूटनीतिक अधिकारीहरूका अनुसार जोशी २३ माघसम्म छुटिसक्ने विश्वास इजरायली कूटनीतिक च्यानलबाट प्राप्त भएको थियो । तर, यो सम्भव भएन । यद्यपि, ती अधिकारीले भने, ‘हामी प्रयासरत छौँ र आशावादी पनि छौँ ।’ 

प्यालेस्टाइनको गाजास्थित हमास समूहको नियन्त्रणबाट तेस्रो समूहअन्तर्गत १७ माघमा पाँचजना थाई र तीनजना इजरायली नागरिक मुक्त भएका थिए । इजरायल र प्यालेस्टिनी हमास समूहबिच ३ माघमा भएको युद्धविराम सम्झौताअनुसार हमास समूहले ६ साताभित्र उसको नियन्त्रणमा रहेका ३३ जनालाई नियन्त्रणमुक्त गर्नुपर्नेछ । यसलाई पहिलो चरण भनिएको छ । यो चरणमा इजरायली नागरिक मात्रै नियन्त्रणमुक्त हुने भनिएको भए पनि बिहीबार पाँचजना थाई नागरिकसमेत मुक्त भए । त्यसमा नेपाली विपिन पनि मुक्त हुने आशा थियो । 

युद्धविराम सम्झौताअनुसार हमासले १९ जनवरीमा तीनजना, २५ जनवरीमा चारजना र बिहीबार आठजना गरी १५ जनालाई मुक्त गरिसकेको छ । १९ जनवरीदेखि लागू हुने गरी ६ साता अर्थात् फेब्रुअरीभित्र हमासले ३३ जनालाई मुक्त गर्ने प्रतिबद्धता जनाएको छ । त्यतिन्जेल इजरायलको जेलमा रहेका करिब दुई हजार प्यालेस्टिनी नागरिक पनि मुक्त हुनेछन् ।

सुझावित समाचार