भारतमा कठघरामा इस्लाम

पुराना मस्जिद हटाएर मन्दिर पुनर्निर्माण गर्नुले विगतका अन्याय सुधार्दैन, बरु नयाँ अन्याय सिर्जना गर्छ

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

यही जनवरीको सुरुमा भारतको सर्वोच्च अदालतले मथुराको शाही इदगाह मस्जिदमुनि हिन्दु धार्मिक स्थल रहेको हुन सक्ने दाबीको छानबिन गर्न खोज्ने १५ वटा मुद्दालाई एकसाथ हेर्ने निर्णय ग¥यो । अदालतका अनुसार यो कदम बहुविधायुक्त कानुनी कारबाही र बाझिने फैसला रोक्न मद्दत गर्दै बढ्दो धार्मिक विवादबिच न्यायिक स्थिरता कायम राख्न पनि सहयोगी हुनेछ । धेरै भारतीय मुसलमान शासक विशेषतः मुगलले लुटपाट गरेर ध्वस्त पारिएका हिन्दु मन्दिरका ठाउँमा मस्जिद निर्माण गरेका थिए भन्नेमा विश्वास गर्छन् । यो विषय भारतीय राजनीतिमा संवेदनशील मानिन्छ र हिन्दुत्व समर्थक राष्ट्रिय स्वयंसेवक संघ परिवारजस्ता समूहले यसलाई थप चर्काउनमा भूमिका खेल्दै आएका छन् ।

भारतको स्वतन्त्रतापछि चार दशकसम्म यो विषय प्रायः निष्क्रिय नै रह्यो । तर, सन् १९८० को दशकमा अयोध्यामा राम जन्मभूमि फिर्ता गर्ने आन्दोलनले तनाव चुल्यायो । डिसेम्बर १९९२ मा हिन्दुत्व अतिवादीले १६औँ शताब्दीको बाबरी मस्जिद भत्काएका थिए । लामो कानुनी लडाइँपछि सन् २०१९ को फैसलाले हिन्दु पक्षलाई मन्दिर निर्माणको अनुमति दियो, जबकि मुसलमानलाई प्रतीकात्मक रूपमा मस्जिदलाई अन्यत्र बनाउन पाँच एकड जमिन दिइयो । यसरी आपराधिक रूपमा भएको सम्पत्ति विनाशको विवाद अपराधीकै पक्षमा टुंगियो, जसमा हिन्दु भावनालाई अल्पसंख्यकको अधिकारको मूल्यमा प्राथमिकता दिइयो । यद्यपि पीडित मुसलमान समुदाय शान्त नै रह्यो ।

धेरै भारतीय मुसलमानका लागि यी विवाद कुनै विशिष्ट मस्जिदको विषय मात्र नभई भारतीय समाजमा आफ्नो स्थानसँग जोडिएको मुद्दा हो । बाबरी मस्जिदको विध्वंस भारतको बहुलवादी लोकतान्त्रिक मूल्यमाथि विश्वासघातजस्तो महसुस भयो । तर, धेरै मुसलमानले राम जन्मभूमि विवादको समाधानले हिन्दु–मुस्लिम सम्बन्धमा दशकौँदेखि रहेको कटुता अन्त्य गर्ने अपेक्षा गरेका थिए । त्यसैगरी, मुगलले ध्वस्त पारेको भनिएका हिन्दु मन्दिर फिर्ताको प्रयास रोकिनेछ भन्नेमा पनि भारतीय मुसलमान आशावादी थिए । तर, त्यस्तो कहिल्यै भएन । हिन्दु राष्ट्रवादीका लागि यो निर्णय भारतको हिन्दुत्ववादी पुनव्र्याख्याको विजय थियो, जसले मस्जिदविरुद्धको अभियानलाई रोक्नुको साटो तीव्र बनाइदियो ।

बाबरी मस्जिद भत्काउने घटनापछि मात्रै सन् १९९१ मा लागू गरिएको पूजास्थल (विशेष प्रावधान) ऐन अयोध्याजस्तो अन्य आन्दोलन रोक्न बनाइएको थियो । यो ऐनले स्वतन्त्रताको समय अर्थात् १५ अगस्ट १९४७ मा रहेका सबै पूजास्थलको धार्मिक चरित्र जस्ताको तस्तै राख्ने उद्देश्य राख्छ । यसले कुनै पनि पूजास्थलको रूपान्तरणमा निषेध गर्छ र यससँग सम्बन्धित कानुनी मुद्दा दायर गर्नबाट रोक्छ । तर, ऐनका स्पष्ट प्रावधान हुँदाहुँदै पनि यसको कार्यान्वयनमा चुनौती देखिएका छन् । उदाहरणका लागि सन् २०२२ मा वाराणसीको ज्ञानवापी मस्जिदको भिडियो निरीक्षण गर्ने अनुमति दिएको अदालतको आदेशपछि अन्य मस्जिदको जाँचका लागि थुप्रै समान प्रकृतिका मुद्दा दायर भएका थिए । मुद्दा दायर गर्नेले पूजास्थलको धार्मिक चरित्रसम्बन्धी मुद्दा अदालतमा उठाउन नदिँदा यो ऐनले न्याय प्राप्त गर्ने अधिकार सीमित गर्छ भनेर दाबी गर्छन् । यसले ऐनको संवैधानिकता र व्यक्ति तथा समुदायको अधिकारमा पर्ने प्रभावबारे बहसलाई झन् तीव्र बनाएको छ ।

विलियम एफ बक्लीले पुरातनपन्थी ‘इतिहासको मार्गमा उभिएर ‘रोक ! भन्दै कराउँछन्’ भनेर लेखेको भनाइ निकै प्रशिद्ध भएको थियो । तर, भारतका हिन्दुत्ववादी राष्ट्रवादी इतिहासलाई लिएर उल्लिखित पुरातनपन्थीलाई माथ दिन्छन्, अर्थात् उनीहरू ‘पछाडि फर्क !’ मा लागेका छन् । वास्तवमा यो इतिहासप्रति गहिरो श्रद्धाभन्दा पनि वर्तमानलाई पुनः परिभाषित गर्ने उद्देश्यले प्रेरित देखिन्छ । सर्वोच्च अदालतले समेत स्वीकार गरेअनुसार यदि कुनै मस्जिद भत्काइएका मन्दिरमाथि बनाइएको प्रमाणित भएमा त्यो मन्दिर पुनस्र्थापना गर्नुपर्ने माग अनिवार्य रूपमा उठ्नेछ । यसरी पुनर्निर्मित प्रत्येक मन्दिर हिन्दुत्ववादी भारत निर्माणतर्फको एउटा इँटासरह हुनेछ । अन्तरधार्मिक सहअस्तित्वको आदर्श लगभग परित्याग भएको अवस्था छ र मुसलमानलाई राष्ट्रिय भाष्यमा किनारामा धकेलिएको छ । अयोध्यामा भएका भव्य समारोह (जसमा प्रधानमन्त्री नरेन्द्र मोदी र राज्य संयन्त्र खुलेरै संलग्न थिए) खासमा यो राष्ट्रधर्म घोषणा गर्ने दिशामा ठुलो पाइला हो । ‘हिन्दू राष्ट्र’ हाम्रो आँखै अगाडि निर्माण भइरहेको छ ।

भारतीय इतिहासलाई पल्टाएर हेर्ने हो भने विवादित क्षेत्र र स्थल छन्, तर विगतका विवादको पुनरुत्थान आजको दिनमा अशुभ संकेत हो । मथुरासम्बन्धी मुद्दालाई एकीकृत गर्ने सर्वोच्च अदालतको निर्णय यस प्रवृत्तिलाई नियन्त्रण गर्ने दिशामा एउटा कदम हो । अदालतले तल्लो अदालतलाई नयाँ मुद्दा दर्ता गर्न रोक लगाएको छ, विशेषतः ती मुद्दा जसले मन्दिरका भग्नावशेषमाथि निर्माण गरिएको भनिएका मस्जिद र दरगाहलाई तारो बनाउँछन् । त्यसैगरी अदालतले विचाराधीन मुद्दामा आदेश जारी गर्न पनि निषेध गरेको छ, तर यो अपुग छ । सर्वोच्च अदालतले थप कडा कदम चाल्न आवश्यक छ । पुराना मस्जिद हटाएर मन्दिर पुनर्निर्माण गर्नुले विगतका अन्याय सुधार्दैन, बरु नयाँ अन्याय सिर्जना गर्छ । निको भएका घाउलाई फेरि आलो पारिँदै छ । यदि न्यायालयले यी विवादलाई दृढतापूर्वक रोक लगाएन भने मुसलमानबाट प्रतिरोध पनि हुन सक्छ । साम्प्रदायिक हिंसाको नयाँ लहरले भविष्यका पुस्तालाई विगतका अन्यायको बदला लिनुपर्ने पाठ मात्र सिकाउनेछ । हिन्दुत्व अभियान इतिहासलाई युद्धको इन्धनका रूपमा प्रयोग गर्न उत्सुक छ । तर, विगतलाई उल्ट्याउने यिनको अन्धमोहले भारतको भविष्यलाई नै संकटमा पार्दै छ ।

(थरुर भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं लोकसभाका सांसद हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार