हावाहुरीको सिजन सुरु नहुँदै बढ्यो आगलागी र डढेलो : एक महिनामा १४ को मृत्यु, ७९ जना घाइते

४३ घर पूर्ण र ४९ आंशिक गरी ९२ घरमा क्षति, १४ करोडको क्षति आकलन, सरकार बल्ल कार्ययोजनाको तयारीमा

सोमबार, २१ माघ, २०८१
डिजिटल संस्करण

हावाहुरीको सिजन (प्रि–मनसुन) सुरु नहुँदै वनडढेलो र आगलागीका घटना बढेका छन् । तर, सरकार बल्ल डढेलो नियन्त्रणका लागि पूर्वतयारी कार्ययोजना बनाउँदै छ । सुक्खायाम र हावाहुरी चल्ने समय सुरु हुन थालेकाले डढेलो र आगलागी थप बढ्न सक्ने विज्ञको चिन्ता छ । डढेलो र आगलागी नियन्त्रणका लागि जनशक्ति र उपकरण अभाव छ ।

गृह मन्त्रालयका अनुसार १७ पुसयताको एक महिना (२० माघसम्म) मा आगलागीका ३८० र डढेलाका १०८ घटना भएका छन् । यी घटनामा १४ जनाको ज्यान जाँदा ७९ जना घाइते भएका छन् । सरकारी तथ्यांकअनुसार झापा, सोलुखुम्बु, रौतहट, बारा, धनुषा, काभ्रेपलाञ्चोक, रसुवा, चितवन, मुस्ताङ, पर्वत, अर्घाखाँची, रोल्पा र डोल्पामा आगलागीमा एक–एकजना र डढेलोमा परी जुम्लामा एकको ज्यान गएको छ । ४३ घर पूर्ण क्षति भएका छन् ।

सबैभन्दा बढी मोरङमा २२, सुनसरीमा २१, सप्तरीमा १९, झापामा १६, धनुषा र काठमाडौंमा १५–१५, सिराहामा १४, बारामा १३, सर्लाहीमा १२, रौतहट र बाँकेमा ११–११ तथा भोजपुरमा १० ठाउँमा आगलागी भएको छ । यो गत वर्षभन्दा कम संख्या हो । गत वर्ष यही अवधिमा ४२० ठाउँमा आगलागी हुँदा ११ जनाको मृत्यु, ८६ घाइते, ६६ घर पूर्ण र ११ घरमा आंशिक क्षति पुगेको थियो ।

डढेलोले कति वन क्षेत्र सखाप पा¥यो भनेर यकिन तथ्यांक छैन । तर, बर्सेनि औसतमा दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । जसकारण काठदाउरा, बुट्यान जल्ने मात्र होइन, वन्यजन्तुको वासस्थानसमेत खलबलिने गरेको छ । वनमा लागेको डढेलोसमेत बस्ती पस्दा जिउधनको क्षति बढिरहेको छ ।

वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्माका अनुसार नेपालमा सबैभन्दा बढी डढेलो चैत–वैशाखमा लाग्ने गर्छ । यो महिना तापक्रम उच्च हुने र वर्षा पनि कम हुने घटना बढी हुने गर्छन् । ‘हिउँदमा पनि कम पानी परेकाले आगलागी र डढेलो लाग्न सहयोग पुगेको देखिन्छ । अब झन् सुक्खायाम र हावाहुरी चल्ने समय सुरु भइरहेको छ । चैत–वैशाखमा कस्तो होला भन्न सकिने अवस्था छैन । डढेलो नियन्त्रणका योजना सरकारले तुरुन्त बनाउनुपर्छ । डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरेर अग्निरेखा बनाउनतिर लाग्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सुक्खायामसँगै डढेलो र आगलागीका घटना बढिरहेको र जोखिम अझै बढ्ने बताए । ‘हावाहुरी चलेपछि आगलागी र डढेलो अझ बढ्छ भन्ने हुन्छ, त्यो सिजन आउँदै छ,’ उनले भने, ‘वनमा डढेलो लगाउने कार्य रोक्न सचेतनामूलक कार्यक्रम चलाउन भनेर सरोकारवाला निकायलाई भनेका छौँ ।’

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले मौसम सुक्खा हुँदा डढेलोको जोखिम बढेको र अहिले मध्यपहाडी क्षेत्रमा डढेलो देखिएको बताइन् । ‘विश्वव्यापी तापक्रम वृद्धिका कारण कुनै पनि समय र याममा डढेलाको जोखिम हुन्छ । नेपालमा हिउँदमा कम पानी परेको र तापक्रम सरदरभन्दा बढी रहेकाले सुक्खा छ । वनजंगलमा रहेका पातपतिंगरमा डढेलो लाग्दा सुक्खा हावाले चाँडै फैलने हुन्छ । अहिले मध्यपहाडी क्षेत्रमा डढेलो देखिएको छ,’ उनले भनिन् ।

सामान्यतः नेपालमा दुई वा तीन वर्षको अन्तरालमा डढेलो बढ्ने गरेको छ । तर, पोहोर (२०२४) तीन वर्षयताकै धेरै पाँच हजार २०५ डढेलाका घटना रेकर्ड भएकामा यस वर्ष प्रि–मनसुन सुरु नहुँदै डढेलो बढेको छ । सन् २०२३ मा तीन हजार १९४ ठाउँमा डढेलो लागेको थियो ।

महाभारत र पहाडको वनजंगल डढेलोको चपेटामा 
गत साता काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सीमाक्षेत्र थामलेकस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो ६ दिनपछि मात्र नियन्त्रणमा आएको थियो । डढेलो नियन्त्रणमा लिन हेलिकोप्टरको बकेटमार्फत पानीसमेत खन्याउनुपरेको थियो । जुम्लाको सिँजा गाउँपालिका– १, जाँचको रूपाकोटमा वनमा लागेको डढेलो निभाउन जाँदा वृद्ध भद्र रावलको गत आइतबार ज्यान गएको थियो । त्यस्तै, नीलगिरि हिमालको फेद म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्रमा पनि एक साता डढेलो लाग्यो । अमेरिकी अन्तरिक्षसम्बन्धी संस्था नासाको मोडिज भूउपग्रहले संकलन गरेको तथ्यांक हेर्दा डढेलो पनि बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्र १३२ ठाउँमा डढेलो देखिन्छ । चुरे, पहाड र उच्च पहाडी क्षेत्रका वनजंगलमा बढी डढेलो लागेको छ । शनिबार १२१ र शुक्रबार १२६ ठाउँमा डढेलो लागेको थियो ।

भोटेकोशीमा तीन दिनदेखि डढेलो
चीन र नेपालको सिमानामा पर्ने कोदारी जंगलमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । डढेलो नियन्त्रणका लागि आइतबार हेलिकोप्टरबाट भोटेकोशीको पानी ल्याएर खन्याइएको छ । भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले डढेलो निभाउन सोमबार पनि हेलिकोप्टरले पानी खन्याउने बताए ।

लिपिङ बजारमाथि भिरको जंगलबाट सुरु भएको डढेलो चीन क्षेत्रको जंगलमा पनि जाने जोखिम बढेको छ । डढेलो नियन्त्रणका लागि गाउँपालिका, सेना, प्रहरी र सशस्त्र प्रहरी लागिपरेका छन् ।

संसदीय समितिको निर्देशनपछि बल्ल कार्ययोजना बनाउँदै छ सरकार
डढेलाका घटना बढ्न थालेपछि सरकार बल्ल नियन्त्रण कार्ययोजना बनाउन जुटेको छ । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ९ माघमा गृह र वन मन्त्रालयलाई १५ दिनभित्र डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना पेस गर्न निर्देशन दिएपछि एकीकृत कार्ययोजना बनाउन थालिएको हो ।

वन मन्त्रालयका सहसचिव दीपक ज्ञवालीले डढेलो बढ्न सक्ने र यसका लागि कार्ययोजना निर्माणको काम भइरहेको बताए । ‘यसपालि पनि डढेलो बढ्ने देखिन्छ । वनमा दमकल जान नसक्ने, दमकल नै पर्याप्त छैनन् । नजिकै पानीको स्रोत पनि नहुन सक्छ । डढेलो लागेकै वेला बस्तीमा आगलागी भए आगलागी नियन्त्रण पहिलो प्राथमिकता हुने नै भयो । त्यही भएर अब पूर्वतयारीमा जोड दिने भनेका छौँ,’ उनले भने, ‘त्यहीअनुसार डढेलो नियन्त्रण र पूर्वतयारी कार्ययोजना बन्दै छ । केन्द्रले समन्वयको काम गर्छ, जिल्ला (प्रदेशमातहतको डिभिजन वन कार्यालय र पालिकास्तरमा टास्कफोर्स बनाउने भनेका छौँ । सचेनामूलक कार्यक्रम, डढेलो लगाउनेलाई कारबाहीदेखि अग्निरेखा बनाउने काम त्यही स्तरबाट हुनेछ । हामीले १–७ फागुनलाई डढेलो नियन्त्रण सप्ताह पनि प्रस्ताव गरेका छौँ ।’

वन विभागले ०६७ मा डढेलो व्यवस्थापन रणनीति ल्याएर डढेलो नियन्त्रणको काम गर्दै आए पनि मुलुक संघीयतामा गएपछि एकीकृत प्रणाली थिएन । डिभिजन वन कार्यालय ८४ वटा, सबडिभिजन वन कार्यालय ५२६, सामुदायिक वन २२ हजार र सयौँको संख्यामा साझेदारी वन छन् । त्यसबाहेक ७५३ स्थानीय तह पनि छन् । यी निकायलाई डढेलो नियन्त्रणका लागि उत्तरदायी बनाउन खोजिएको हो ।

कृषि समिति सभापति कुसुमदेवी थापाले डढेलो नियन्त्रण तथा त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि प्रभावकारी काम गर्ने गर्नुपर्ने भएकाले कार्ययोजना बनाउन निर्देशन दिइएको ‘सुक्खा मौसममा वनजंगलमा डढेलोले प्रकोपको रूप लिने गरेको छ, सावधानी अपनाउनुपर्ने देखिन्छ,’ थापाले भनिन्, ‘डढेलो नियन्त्रणमा खटिँदा सुरक्षा सावधानीसहितको तालिमप्राप्त जनशक्ति र आवश्यक यन्त्र, उपकरणको पर्याप्त व्यवस्था गर्न पनि भनेका छौँ ।’

सुझावित समाचार