टाइगर कप भलिबल : महिलातर्फ आयोजक र पुरुषतर्फ पुलिसलाई उपाधि

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

पाँचौँ संकरणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता ०८१ को उपाधि महिलातर्फ आयोजक टाइगर ग्रुप अफ पोखरा नेपाल र पुरुषतर्फ नेपाल प्रहरीको नेपाल पुलिस क्लबले हात पारेका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना एवं एनसेलको मुख्य प्रायोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा महिलातर्फ आयोजक टोलीले साविक विजेता सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा र पुरुषतर्फ पुलिसले घरेलु टोली गण्डकीले प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । 

महिलातर्फको फाइनल खेलको पहिलो सेट १७–२५ ले पछि परेको आयोजकले दोस्रो सेट भने २९–२७ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेल एक एकको बराबरीमा भएको अवस्था तेस्रो सेट २५–२१ ले एपिएफले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट आयोजकले २५–१६ ले आफनो पक्षमा पारेको थियो ।

खेल दुई दुई सेटको बराबरीमा पुगेको अवस्थामा निर्णयक एवं अन्तिम सेटमा १५–१३ ले आफनो पक्षमा पार्दै आयोजकले उपाधि हात पार्न सफल भएको हो । पाँचाँै संस्करणसम्म आईपुग्दा प्रतियोगितामा आयोजकले महिला टोली सहभागिता गराएको यो पहिलोपटक हो ।

आयोजकको महिला टोलीले पहिलो पटकमै उपाधि उचाल्न समेत सफल भएको छ । सम्पन्न पाँचाँै संस्करणको फाइनल खेलसँगै एपिएफ र आयोजकको तेस्रोपटक भिडेका हुन् ।

यसअघि लिग चरणको खेलमा ३–० र क्वालिफायरमा ३–१ को सेटमा एपिएफ विजयी भएको थियो । यस अघिका दुई खेलमा विजयी एपिएफ तेस्रो जित हात पार्ने उदेश्यसहित मैदान उत्रेको थियो भने आयोजक दुई हारको बदला लिदै उपाधि उचाल्ने उदेश्यसहित मैदानमा प्रस्तुत भएको थियो । जितसँगै आयोजकले दुई खेलमा भएको हारको बदला उपाधि चुमेर लिएर छ । 

पुरुषतर्फ फाइनल खेलको पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफनो पक्षमा पारेको पुलिस तेस्रो सेटमा २०–२५ ले पछि परेको थियो भने चौथो सेट २५–२२ ले आफनो पक्षमा पादै पुलिसले उपाधि हात पारेको थियो ।

फाइनलसम्म आईपुग्दा सम्पन्न प्रतियोगितामा यसअघि नकआउट चरणको खेलमा पुलिसले गण्डकीलाई ३–२ को सेटमा पराजित गरेको थियो । फाइनल खेलमा पुलिस आफ्नो विजयी यात्रा जारी राख्ने उदेश्यसहित मैदान उत्रदा गण्डकी भने यसअघिको हारको बदला लिदै उपाधि उचाल्ने उदेश्यसहित मैदान उत्रेको थियो । उपाधिसँगै पुलिसले आफनो विजयी यात्रा जारी राख्दा गण्डकी भने बदला लिनबाट चुकेको छ ।

प्रतियोगितामा महिलातर्फ न्यु डायमण्डले तेस्रो स्थान हात पार्दा पुरुषतर्फ अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ ।

प्रतियोगितामा महिला पुरुष दुवैतर्फको विजेताले समान पाँच लाख ८५ हजार ५५५, दोस्रोले समान दुई लाख ८५ हजार ५५५ र तेस्रो हुनेले टोलीले समान एक लाख ८५ हजार ५५५ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाएका आयोजक ग्रपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । 

सुझावित समाचार