दुई वर्षपछि आयोजना भएको राष्ट्रिय महिला लिग २०८१ बुधबार सकियो । दशरथ रंगशालामा भएको विभागीय ‘डर्बी’ फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै लगातार चौथोपटक उपाधि रक्षा गर्यो । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई चरणमा आयोजना गरेको लिगमा १० टोलीले भाग लिएका थिए । दोस्रो चरणमा भने शीर्ष पाँच टोलीबिच प्रतिस्पर्धा भयो । बागमती युवा र संकटा क्लब पहिलोपटक सहभागी भए । कुल ९२ खेल हुँदा लिगमा एपिएफ अपराजित रह्यो । आयोजक एन्फाको प्राविधिक कमिटीको सहयोगमा नयाँ पत्रिकाकर्मी रमेश सुवेदीले लिगमा उत्कृष्ट ‘ड्रिम ११’ तयार गरेका छन् । ड्रिम ११ को रणनीति शैली ४–४–२ को छ, जसमा एपिएफका ६, पुलिसका तीन र आर्मीका दुई खेलाडीले स्थान बनाएका छन् ।
पूजा राना (राइट ब्याक), क्लब : नेपाल पुलिस
महिला लिगमा पुलिस उपविजेता हुँदा राइट ब्याक पूजाको सबैभन्दा धेरै चर्चा भयो । घाइते भएका कारण उनले लिगमा सबै खेल खेल्न पाइनन् । तर, मैदानमा जतिपटक उनले अवसर पाइन्, ती सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भइन् । यसै असाधारण प्रदर्शनका कारण नै उनको नाममा पाँच गोल रह्यो । प्रशिक्षक भोलानाथ सिलवालले विपक्षी पोस्टमा गोल नहुँदा पूजालाई अट्याकिङ भूमिका दिने गर्थे । प्रशिक्षकले दिएको भूमिकामा उनको प्रदर्शन अब्बल रह्यो । राष्ट्रिय टोलीबाट खेलिसकेकी पूजा लिगकै उत्कृष्ट राइट ब्याकमा पर्छिन् । मैदानमा उनलाई चुनौती दिन सक्ने खेलाडीमा एपिएफकी युवा खेलाडी प्रतीक्षा चौधरी हुन् ।
गीता राना (डिफेन्डर), क्लब : एपिएफ
घरेलु फुटबलमा सधैँ सम्झिरहने सदाबहार डिफेन्डर हुन् गीता । राम्रा विपक्षी खेलाडीको दबाबलाई सहजै नियन्त्रण लिन सक्ने खुबी उनीसँग छ । लगातार एक दशकदेखि गीता विभागीय क्लब एपिएफमा आबद्ध छिन् । एपिएफको डिफेन्स कमान्ड सम्हाल्ने अन्य खेलाडीको तुलनामा उनको हाइट अग्लो छ । यसैकारण यी सेन्टर ब्याकलाई बिट गर्न विपक्षी अट्याकरलाई सधैँ मुस्किल पर्छ । गीताले नेपालमा मात्र नभएर भारतीय सेथु एफसीबाट पनि व्यावसायिक लिग खेलिसकेकी छिन् । बर्दियामा जन्मेकी २८ वर्षीया खेलाडी उनले लिगमा सबै खेल खेलिन् । लिगभरि उनले चार पेनाल्टी र एक गोल गरेकी थिइन् । घरेलु फुटबलमा एपिएपले पेनाल्टी पाएपछि उनी नै विकल्पका रूपमा प्रहार गर्न अगाडि पुग्छिन् ।
अमृता जैसी (डिफेन्डर), क्लब : नेपाल पुलिस
यसपटक राष्ट्रिय महिला लिगमा सबैभन्दा धेरै प्रतिस्पर्धा भएको पोसेसन नै सेन्टर ब्याक थियो । दबाबबिच उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी पुलिसकी अमृता हुन् । लिगमा एपिएफकी निशा थोकर र आर्मीकी विमला विकले अमृतालाई चुनौती दिए । निशाले अन्य प्रतियोगितामा भन्दा यो लिगमा राम्रो प्रदर्शन गर्न सफल रहिन् । एपिएफबाट खेल्दा गीतासँग उनको सहकार्य खुबै जमेको थियो । विमला पहिलोपटक सेन्टर ब्याकबाट खेलिन् । जहाँ उनी आफ्नो ड्युटीमा निपुण भइन् । यो लिगमा अट्याकरले दबाब बनाउन नसकेपछि पुलिसको डिफेन्स लाइन लिगभरि व्यस्त रह्यो । यसमा अमृताको भूमिका तारिफयोग्य थियो । लिगको उपविजेता हुँदाको श्रेय नै उनलाई जान्छ ।
मनमाया दमाईं (लेफ्ट ब्याक), क्लब : एपिएफ
महिला लिगले पाएको एक नयाँ खेलाडी मनमाया हुन् । एपिएफकी नियमित लेफ्ट ब्याक हीराकुमारी भुजेल घाइते भएपछि मनमायालाई प्रशिक्षक जीवेशकुमार पाण्डेले जिम्मेवारी दिएका हुन् । उनले प्राप्त जिम्मेवारीलाई न्याय गरिन् । लिगमा गरेको प्रदर्शनका कारण उनले राष्ट्रिय टोलीको ढोका ढकढक्याएकी छिन् । वालिङ हुँदै राष्ट्रिय लिगमा प्रवेश गरेकी २० वर्षीया मनमायाले नेपालको यू–१४, १८ र १९ राष्ट्रिय टोलीबाट खेलिसकेकी छिन् ।
प्रीति राई (मिडफिल्डर) क्लब : एपिएफ
वाफ महिला च्याम्पियनसिपमा लेबनानविरुद्धको गोलसँगै एकाएक प्रीतिको चर्चा बढ्यो । नेपालको यू–१४ हुँदै राष्ट्रिय महिला टोलीमा उनले सहजै डेब्युको अवसर पाइन् । युवाबाट एकैपटक राष्ट्रिय टोलीमा छनोट भएपछि प्रीतिको प्रदर्शन निखारिँदै गएको छ । घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा उनले सम्हालेको मिडफिल्ड पोसेसन बलियो छ । यस पोसेसनमा उनको प्रदर्शन प्रभावशाली देखिन्छ । विपक्षीलाई आफूमाथि दबाब बनाउन नदिने र विपक्षीविरुद्ध फाइनल थर्डमा पनि दबाब बढाउन सक्ने क्षमता उनीसँग छ । प्रीतिले लिगमा सबै खेल खेल्दा १० गोल गरेकी थिइन् । उनीसँग एपिएफकी सरू लिम्बू पनि प्रतिस्पर्धामा थिइन् ।
सविता राना मगर (मिडफिल्डर), क्लब : एपिएफ
सर्वाेत्कृष्ट खेलाडी घोषणा हुँदा सवितालाई सुरुमा विश्वास नै लागेन । दर्जनौँ खेलाडीमाझ आफू नै महिला लिगकै सर्वोत्कृष्ट खेलाडी हुने उनले कल्पनासमेत गरेकी थिइनन् । आयोजकले सर्वोत्कृष्ट खेलाडीको नाम घोषणा गर्दा सविता एकछिन अचम्ममा परिन् । ट्रफी उचालेपछि उनको पहिलो बोली यस्तो थियो, ‘म पो सर्वाेत्कृष्ट ! मलाई विश्वास लागेको थिएन ।’ उनले दुवै चरणमा सानदार प्रदर्शन गरेकी थिइन् । २२ वर्षीया विंगर सविताले लिगमा २५ खेलमा १३ गोल र सर्वाधिक १६ असिस्ट गरिन् । रौतहट हुँदै एपिएफमा आबद्ध भएकी उनी अहिले राष्ट्रिय टोलीमा आबद्ध छिन् ।
विमला चौधरी (मिडफिल्डर), क्लब : आर्मी
यसपटकको लिगमा त्रिभुवन आर्मी अभागी ठहरियो । प्ले अफका दुवैे खेलमा आर्मी पराजित हुँदा फाइनल स्थान बनाउन सकेन । पहिलो प्ले अफमा एपिएफ र दोस्रोमा पुलिससँग पराजित हुँदा आर्मीको यात्रा प्ले अफसम्म सीमित भयो । आर्मी यहाँसम्म पुग्नुपछाडि विंगर विमला चौधरीको योगदान महत्वपूर्ण मान्नुपर्छ । लिगमा उनले २२ खेलमा १४ गोलसँगै १२ असिस्ट गरिन् । कैलालीबाट खेल करिअर सुरु गरेकी विमलाले पछिल्लो दशकमा आर्मीबाट प्रतिस्पर्धा गरिरहेकी छिन् । २७ वर्षीया उनको मजबुत पक्ष नै सधैँ एकनासको प्रदर्शन गर्नु हो । मैदानबाहिर कम बोल्ने र कमै घुलमिल हुने बानी भएका कारण नै लिगमा विमलाको चर्चा खासै भएन ।
चन्द्रा भण्डारी (स्ट्राइकर), क्लब : आर्मी
एपिएफकी रश्मिकुमारी घिसिङपछि महिला लिगमा सबैभन्दा उत्कृष्ट स्ट्राइकर आर्मीकी चन्द्रा भण्डारी हुन् । २० वर्षीया चन्द्राले लिगमा १७ गोल र ९ असिस्ट गरी समग्रमा १९ खेलमा प्रतिस्पर्धा गरेकी थिइन् । यी सबै खेलमा उनले विपक्षी डिफेन्डरलाई आच्छु–आच्छु पार्न सफल भइन् । विभागीय डर्बीमा पनि चन्द्राले आफ्नो प्रभाव उत्तिकै देखाइन् । धनगढी हुँदै महिला लिगमा प्रवेश गरेकी उनलाई आर्मीले अनुबन्ध गरेको हो । नेपालको यू–१४ टोली हुँदै चन्द्राले राष्ट्रिय टिमबाट समेत डेब्यु गरिसकेकी छिन् । चन्द्रासँगै आर्मीबाट अमिषा कार्कीको पनि उत्तिकै सानदार प्रदर्शन थियो ।
रेनुका नगरकोटे (मिडफिल्डर), क्लब : एपिएफ
राष्ट्रिय टोलीको आर्म ब्यान्ड लगाइरहँदा लगातार दुईपटक घाइते भएपछि रेनुकालाई सक्रिय रूपमा मैदानमा फर्कने वा नफर्कने भन्ने द्विविधा थियो । उनले सबैको विश्वासलाई जित्दै लिगमा सानदार कमब्याक गरिन् । रौतहटबाट महिला फुटबलमा आबद्ध भएकी उनले फुटबल मैदानमा बिताएको १७ वर्ष भइसकेको छ । एपिएफ अपराजित रही च्याम्पियन हुँदा प्लेमेकर रेनुकाले उत्कृष्ट भूमिका निर्वाह गरेकी थिइन् । लिगमा उनले पाँच गोल गरिन् । विपक्षी पोस्टमा गोल गर्नुका साथै उनले आफ्नो पोस्टमा कहिल्यै पनि विपक्षी खेलाडीलाई हाबी हुन दिइनन् । एपिएफले विपक्षीविरुद्ध गरेको धेरैजसो गोलमा कहीँ न, कहीँ उनको भूमिका देखिन्थ्यो ।
रश्मिकुमारी घिसिङ (स्ट्राइकर), क्लब : एपिएफ
रश्मि पहिलोपटक एपिएफबाट खेल्दै लिगकै सर्वाधिक गोलकर्ता बनिन् । एपिएफकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारी फ्रेन्च लिगमा आबद्ध भएकाले उतै व्यस्त छिन् । उनको अनुपस्थितिमा प्रशिक्षक पाण्डेले लिगमा रश्मिलाई अट्याकको जिम्मेवारी दिएका थिए । प्रशिक्षकको निर्णयलाई न्याय दिँदै एपिएफलाई अपराजित रूपमा च्याम्पियन बनाउन रश्मिले महत्वपूर्ण भूमिका निर्वाह गरिन् । उनले २८ खेलमा सर्वाधिक ३५ गोल गरेकी थिइन् । यसक्रममा उनले मैदानमा दुई हजार मिनेट पसिना बगाइन् । राष्ट्रिय टोलीबाट खेलिसकेकी रश्मिले लिगको सर्वाधिक गोलकर्ताको अवार्ड जित्न सफलसमेत भइन् ।