माघ १९ देखि २५ गते सम्मको साप्ताहिक राशिफल

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको माघ १९ गते शनिबारदेखि २५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस् 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : धार्मिक भ्रमणका क्रममा नयाँ सम्बन्ध जोडिने योग छ । दीर्घकालीन फाइदा पुग्ने क्षेत्रमा गरिएको लगानीले सोचेअनुुसार सफलता मिल्ने देखिएको छ । लामो समयदेखि रोकिएका कानुनी झैझमेलाबाट विजयी हुने ग्रहयोग परेको छ । बिहीबार वैदेशिक क्षेत्रसँग सम्बन्धित कुनै पनि काम सफल हुने देखिएको छैन । साताको अन्त्यमा पारिवारिक जीवन सन्तोषप्रद हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : घुमघाम र मनोरञ्जनका क्रममा बहुमूल्य सामान हराउने तथा चोरी हुने ग्रहयोग परेकाले विशेष सावधानी अपनाउनुपर्नेछ । सेयर बजारमा गरिएको लगानी छोटो समयका लागि निकै फाइदाजनक रहनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा बढ्नेछ । पैतृक सम्पत्तिमा झमेला आइपर्ने योग रहेकाले विशेष सावधानी अपनाउँदै अगाडि बढ्नुपर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : घरमा मांगलिक कार्यको शुभारम्भ हुने ग्रहयोग परेको छ । रोकिएका नयाँ कार्यको थालनी हुँदै जानेछन् । साताको अन्त्यमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नुपर्ने हुन सक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । लामो दूरीको यात्रा हानिकारक बन्न सक्छ । भगवान् गणेशको पूजा आरधना गरेमा शुभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : रमाइलो र मनोरञ्जक क्रियाकलापका साथमा साताको सुरुवात हुनेछ । विभिन्न समस्यासित जुध्नुपर्ने योग छ । इच्छाएको जिम्मेवारी प्राप्तिको योग छ । खानपान र यात्रामा खर्च गर्न मन लाग्नेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । बोलेको कुराले विपरीत अर्थ लाग्नाले सम्बन्धमा तिक्तता आउन सक्छ, सावधानी अपनाउनुपर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : मन प्रसन्न रहनेछ । शत्रु पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ सम्बन्ध जोडिने योग छ । रोकिएका अधुरा काम पूरा हुनेछन् । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । घरमा मांगलिक कार्य खुल्दै जानेछन् । छोटो समयका लागि टाढाको यात्रा फलदायी रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्यको योजना बन्नेछ । व्यापार व्यवसायमा सफलता पाइनेछ । शुभारम्भको चर्चा पनि चल्नेछ । दीर्घकालीन फाइदा हुने क्षेत्रमा लगानी गर्दा सफलता मिल्नेछ । साझेदारीमा गरिएका कामबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । वैदेशिक यात्रा सफल रहने योग रहेको छ । नयाँ जिम्मेवारी प्राप्तिको अवसर मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : राजनीतिक र सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुन सक्छ । यो धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । शैक्षिक क्षेत्र पनि राम्रै रहनेछ । मनोरञ्जनमा समय र धन हानिको योग छ । निर्माण क्षेत्रमा गरिएका लगानीबाट फाइदा पुग्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : नजिकको मित्रसँग भेटघाट हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समाजबाट सहयोग मिल्ने देखिन्छ । साताको उत्तरार्धमा प्रतिद्वन्दीले कार्यमा अवरोध ल्याउनेछन् । साताको अन्त्यमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । बोलेको कुराको विपरीत अर्थ लाग्नाले सम्बन्धमा तिक्तता आउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : साताको प्रारम्भमा शरीरमा आलस्य आउला । स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । लामो यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्नेछ । बुधबारदेखि प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको योजना र चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । वैदेशिक यात्रा सफल हुनेछ । बिलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेमजीवन पनि सफल रहनेछ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्यप्रति सजगता अपनाउनुपर्नेछ । नयाँ जिम्मेवारीसहित स्थानान्तरणको योग रहेको छ । समयलाई उपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ । समग्रमा यो साता फलदायी रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : साथीभाइ र आफन्तबाट सहयोग प्राप्त हुनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको योजनाबाट सफलता मिल्नेछ । घरमा मांगलिक कार्य सम्पादन हुनेछ । बुधबारबाट दैनिक कार्यमा भने समस्या र अवरोध आउनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : साताको प्रारम्भमा राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्थानान्तरणको योग रहेकाले नयाँ जिम्मेवारी प्राप्तिको योग रहेको छ । रमाइलो र छोटो यात्राको सम्भावनासमेत छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । महत्वपूर्ण कार्यको थालनीसमेत हुनेछ ।

See More On

सुझावित समाचार