एमाले कार्यवाहक महासचिवले गराए ध्यानाकर्षण : सरकारले पत्रकार महासंघसहित सरोकारवालासँग संवाद बढाओस्

सामाजिक सञ्जालसम्बन्धी विधेयकको सर्वत्र आलोचना

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

सामाजिक सञ्जालसम्बन्धी विधेयकको सर्वत्र आलोचना बढिरहेका वेला एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले पत्रकार महासंघसहित सरोकारवालासँग संवाद गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सरोकारवालाहरूसँगको छलफलपछि मात्र विधेयकलाई संसद्ले टुंग्याउनुपर्ने पार्टीको धारणा रहेको पनि बताए । 

‘विधेयकमा थप छलफल गर्दै जान सकिन्छ, सजाय बढी भए घटाउन सकिन्छ । सार्वभौम संसद्ले नै त्यो काम गर्छ । म सरकारलाई आग्रह गर्छु– त्यसलाई अन्तिम रूप दिँदा पत्रकार महासंघसहित प्रेससम्बद्ध संगठनहरूसँग संवाद गरियोस्, सरोकारवालाहरूको पर्याप्त प्रतिक्रिया पनि लिइयोस्, उपभोक्ताहरूबाट पनि प्रतिक्रिया लिएर मात्र अन्तिम रूप दिइयोस्,’ ज्ञवालीले भने ।

तर, सामाजिक सञ्जालबाट हुने भ्रमपूर्ण र मिथ्या सूचनाको प्रभावलाई नियमन गर्न संसारभरि नियमनको प्रबन्धसहितको उपाय अवलम्बन गरिएकाले नेपालले मात्र केही पनि गर्नुहुँदैन भन्ने तर्कबाट लोकतन्त्र बलियो नहुने उनको भनाइ छ । ‘एउटा कुरा बुझ्नुपर्छ– खासगरी विश्वले नै मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको चुनौतीसँग जुध्नका लागि विभिन्न खालको नियमनको प्रबन्धसहितका उपाय अवलम्बन गरेका छन् । यसरी संसारका अरू देशहरूले नियमनको उपाय अवलम्बन गर्न हुने, तर नेपालले केही पनि नियमन गर्नुहुँदैन भन्ने कुराले लोकतन्त्र बलियो बनाउँदैन,’ उनले भने । 

ज्ञवालीले एमाले आलोचनात्मक चेतसहितको स्वतन्त्रताको पक्षमा भए पनि निराशा फैलाउने, खालि निन्दा र भत्र्सना मात्रै गर्ने तथा देश, समाज र नागरिकलाई परपीडा दिने स्वतन्त्रताको पक्षमा नरहेको बताए । ‘हामीले ३० वर्ष लामो पञ्चायती तानाशाही झेलेर आयौँ । हाम्राबिचमा गोलघरभित्र १४ वर्ष जेल बिताएर आएको नेता नेतृत्वमा हुनुहुन्छ । सुगालाई पिँजडाभित्र पखेटा कुँजाएर बस्नुपर्दाको पीडा थाहा भएजस्तै स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ । त्यसैले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्छ कि भन्ने रत्तिभर विश्वास नगर्न आग्रह गर्छु,’ ज्ञवालीले भने । 

सुझावित समाचार