विश्व लेबर मार्केट सम्मेलनको दोस्रो संस्करणमा सहभागी हुन श्रममन्त्री शरतसिंह भण्डारी साउदी अरब आइपुगेका छन् । श्रममन्त्री भण्डारीलाई साउदी अरबको श्रमबजार नीति उपमन्त्री मोहम्मद विन अहमद अल–असाले किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
यस्तै, साउदीस्थित नेपाली राजदूत डा. नरेशविक्रम ढकाल, दूतावासका नियोग उपप्रमुख डा. डमरुबल्लभ पौडेलसहितका पदाधिकारीले मन्त्री भण्डारीलाई स्वागत गरेका थिए । श्रममन्त्रीसँगै श्रम मन्त्रालयका सहसचिव जीवलाल भुसाल पनि साउदी आइपुगेका छन् ।
मन्त्री भण्डारीले नेपालसहित विश्वका ४५ देशका श्रममन्त्री सहभागी रहने सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै छन् । सम्मेलन आजदेखि साउदी अरबको राजधानी रियादमा सुरु हुँदै छ । अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व बैंक, संयुक्त राष्ट्र विकास कार्यक्रम, आर्थिक सहयोग र विकास संगठन र मिस्क फाउन्डेसनको साझेदारीमा दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालले आफ्नो धारणा राख्ने भएको छ ।
सम्मेलनमा युवा रोजगारीसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्ने र विश्वव्यापी अर्थतन्त्रमा युवा सहभागिता बढाउने उद्देश्यमा केन्द्रित भएर छलफल हुने भएको छ । सम्मेलनमा बेरोजगारी र युवा रोजगारीको विषयलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय पहललाई एकीकृत गर्ने, तीव्र आर्थिक र प्राविधिक परिवर्तनलाई ध्यानमा राख्दै श्रम बजारको विकसित आवश्यकतासँग जोडेर नीतिहरू बनाउने गरी छलफल हुनेछ । साउदी अरबको मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद अल–राझीको अध्यक्षतामा आयोजना हुने सम्मेलनमा अमेरिका, युरोप, एसिया, मध्यपूर्व र अफ्रिकी देशका मन्त्रीहरू र प्रमुख विशेषज्ञहरू सहभागिता रहनेछ ।
सम्मेलनमा श्रमसँग सम्बन्धित विषयमा भविष्यमा अपनाउने नीतिहरू र श्रम बजारको प्रवृत्तिमा केन्द्रित रहनेछ । सम्मेलनमायुवा रोजगारीसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्ने र विश्वव्यापी अर्थतन्त्रमा युवा सहभागिता बढाउने उद्देश्यमा केन्द्रित भएर छलफल हुने भएको छ ।
सम्मेलनले बेरोजगारी र युवा रोजगारीको विषयलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय पहललाई एकीकृत गर्ने, तीव्र आर्थिक र प्राविधिक परिवर्तनलाई ध्यानमा राख्दै श्रम बजारको विकसित आवश्यकतासँग जोडेर नीतिहरू बनाउने गरी छलफल हुनेछ । श्रममन्त्री भण्डारी सम्मेलनको पहिलो संस्करणमा पनि नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।