पूर्व मुख्यमन्त्री एवं एमालेका पोलिटब्यूरो सदस्य राजेन्द्र सिंह रावललाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले स्थानीय व्यवसायी केशवराज पन्तलाई प्रक्राउ गरेको छ । पूर्वमुख्यमन्त्री रावलले शनिबार बिदाका दिन अनुमतिविनै सरकारी गाडी चलाएको विषयमा रास्वपाका कार्यकर्ता र व्यवसायी पन्तबिच भनाभन भएको थियो । त्यसदिन रास्वपाले कञ्चनपुरस्थित पुर्वपश्चिम महेन्द्रराजमार्गअन्तर्गत दैजी क्षेत्रमा अनुमतिविना चलेका सरकारी सवारी साधन नियन्त्रणमा लिँदै प्रहरीलाई बुझाइरहेको थियो ।
यही सिलसिलामा रास्वपाले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले पोलिटब्यूरो सदस्य रावल चढेको सुप प्रदेश ०१००झ ३१८ नम्बरको जिप रोकेको थियो । त्यही क्रममा रास्वपा कार्यकर्तासहित व्यवसायी पन्तसँग रावलको भनाभन भएको थियो । रावलमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले व्यवसायी पन्तलाई त्यसै दिन नियन्त्रणमा लिएर तीन घण्टापछि छाडिदिएको थियो । तर, आज फेरि रिसबी साधेरे प्रहरीलाई पक्राउ गर्न लगाएको आरोप छ ।
पन्तलाई प्रहरीले बोलाएका बखत उपस्थिति हुने गरेर रास्वपा बेदकोट नगर सभापति डम्बर भट्टका जिम्मा लगाएर प्रहरीले छाडेको थियो । घटनापछि पूर्वमुख्यमन्त्री रावलको सचिवालयले रास्वपा नेता कार्यकर्ताले दुव्र्यवहार गरेको भन्दै प्रेस विज्ञप्ती जारी गरेर घटनाको छानबिनको माग गर्दै आएका छन् । लगत्तै रास्वपा कञ्चनपुरले पनि सरकारी गाडी सुविधा नै नभएको र रावलमाथि दुव्र्यवहार नभएको भन्दै प्रेस नोट जारी गरेको थियो ।
घटनाको तेस्रो दिन सोमबार फेरी प्रहरीले ४७ वर्षीय पन्तलाई स्थानीय प्रहरीमार्फत नियन्त्रणमा लिएको छ । रास्वपा कार्यकर्ता र दैजीका स्थानीय व्यवसायीहरूले प्रतिशोध साँधेको भन्दै प्रहरी र रावलप्रति आक्रोश पोखेका छन् ।
प्रतिशोधमा पन्तलाई पक्राउ गरिएको भन्दै दैजी बजार व्यवस्थापन समितिले पूर्वपश्चिम महेन्द्रराजमार्गअन्तर्गत दैजी क्षेत्रमा टायर बालेर सांकेतिक विरोध गरेका छन् । व्यवसायी समेत रहेका रास्वपा बेदकोट नगरका सभापति डम्बर भट्टले घरिघरी पक्राउ परेका पन्तको रिहाइको माग अघि सारेर केही बेर सडक बन्द गरेको बताए । उनका अनुसार निसर्त रिहा नगरे मंगलबारदेखि थप आन्दोलन चर्काइने छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले पहिलो दिन पनि आवश्यक परेका बेला पन्तजीलाई हाजिरी हुने सर्तमा छाडिएको र थप घटनाबारे अनुसन्धानका लागि बोलाएको बताए । प्रहरीबाट प्रतिशोध नभएको प्रवक्ता जोशीको दावी छ ।
व्यवसायी पन्तले भने आफु कुनै पनि पार्टीको सदस्यता नरहेको दावी गरेका छन् । ‘मेरो यो ४७ वर्षको उमेरमा मैले कुनै पनि पार्टीको सदस्यता लिएको छैन, लिएको कसैले प्रमाण दिए म त्यही झुण्डिदिन्छु,’ उनले भने, ‘यसअघि मन मिल्ने पार्टी र उम्मेदवारलाई भोट भने दिएको छु म एक व्यवसायी मात्रै हुँ मेरो दैजीमा यूके इन्जिनियरिङ्ग कन्सलटेन्सी वर्कसप छ ।’
पन्त जय शंकर सामुदायिक वनको सचिव पनि हुन् । उक्त दिन वन अनुगमन थियो । अनुगमन सकेर रास्वपा बेदकोट नगरका सभापति डम्बर भट्ट, तेज सिंह ठकुल्लासहित फर्कदै थिए । सोही क्रममा रास्वपा पार्टीले चलाएको अभियानमा पुगेको र सरकारी सम्पत्ति दुरुपयोग हुन् हुँदैन भन्ने मान्यता राखेको भनाइ छ । व्यवसायी पन्तले भने, ‘त्यही बेला पूर्वमुख्यमन्त्री रावलको गाडी आयो, मैले रोकेकै हुँ । तर, दुव्र्यवहार गरेको थिइन, सरकारी साधनको दुरुपयोग गर्न पाइन्छ भनेर सोधेर अब उत्रिएर जानुपर्छ । निजी गाडी मगाएर जानु भनेको हुँ ।’