ताप्लेजुङमा सात हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लागाइने

सोमबार, १४ माघ, २०८१
डिजिटल संस्करण

ताप्लेजुङमा सात हजार १७८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ। राष्ट्रिय खोप अभियानअन्तर्गत ताप्लेजुङमा विद्यालयभित्रका पाँच हजार ९५४ र विद्यालयबाहिरका एक हजार १६४ जनालाई सो खोप लगाइनेछ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्ड चेन अधिकृत दिनेश रायका अनुसार जिल्लाका नाै स्थानीय तहका माध्यमिक तथा निम्नमाध्यमिक विद्यालयका कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई खोप लगाइनेछ।

माघ २२ देखि २६ गतेसम्म पहिलो चरणमा फुङलिङ नगरपालिका, पाथीभरा यङ्वारक, सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा खोप अभियान सञ्चालन  गरिनेछ। दोस्राे चरणमा माघ २८ देखि फागुन ३ गतेसम्म आठराई त्रिवेणी, मैवाखोला, मेरिङदेन, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकामा खोप अभियान सञ्चालन गर्न तयारी पूरा भएको अधिकृत रायले बताए।

खोप अभियानका लागि १४० विद्यालयसहित २२३ वटा खोप केन्द्र रहनेछ। अभियानका क्रममा २२३ खोप स्वास्थ्यकर्मी, ४४६ स्वयंसेवक र ८१ सुपरिवेक्षक खटाइनेछ।
 

सुझावित समाचार