राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्दै अस्ट्रेलियाका रोस

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

गत जेठमा इटालियन नागरिक भिसेन्जोको सम्झौता नवीकरण नगरेको एन्फाले आठ महिनापछि राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन म्याट रोसलाई जिम्मेवारी दिँदै

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकका रूपमा अस्ट्रेलियन म्याट रोसलाई नियुक्त गर्ने तयारी गरेको छ । रस बुधबार नेपाल आइपुगेका छन् । दशरथ रंगशालामा बिहीबारदेखि सुरु भएको सभापति कपको उद्घाटनमा एन्फाका पदाधिकारीसँगै बसेर उनले खेल हेरेका थिए । प्रो लाइसेन्स प्राप्त उनले दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षकका रूपमा काम गरेका थिए । 

एन्फाले गत जेठमा इटालियन प्रशिक्षक अल्बट भिसेन्जोको सम्झौता नवीकरण गरेको थिएन । त्यसपछि नेपाल टोली मुख्य प्रशिक्षकविहीन थियो । एन्फाले गत मंसिरमा भएको ताजकिस्तान र अफगानिस्तानसँगको त्रिदेशीय कपमा नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षक बनाएको थियो । एन्फाले आठ महिनापछि मुख्य प्रशिक्षक नियुक्त गर्न लागेको हो । एन्फाले मुख्य प्रशिक्षकका लागि भदौमा निवेदन आह्वान गरेको थियो । जसमा ४०५ जनाले निवेदन दिएका थिए । 

यी आवदेनबाट रोस अन्तिम सर्टलिस्टमा परेका हुन् । यसअघि एन्फाको प्राविधिक कमिटीले आवदेन दिएकामध्येबाट एकैपटक २० जनाको सर्टलिस्ट बनाएको थियो । त्यसपछि २० बाट १० जनाको सर्टलिस्ट तयार भयो । यसै साता मात्र पाँचजनाको सर्टलिस्ट तयार पारेको एन्फाका पदाधिकारीले बताए । रसले स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इंग्ल्यान्डका जेमी डेलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी पाउन लागेका हुन् । 

कुनै पनि राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्न फिफाले प्रो लाइसेन्स अनिवार्य बनाएको छ । एन्फाले योसँगै पाँच वर्ष व्यावसायिक स्तरको फुटबलमा खेलेको हुनुपर्ने बताएको थियो । एन्फाले मुख्य प्रशिक्षक घोषणा गर्न राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिनुपर्छ । राखेपले स्वीकृति दिएपछि मात्र एन्फाले सार्वजनिक रूपमा मुख्य प्रशिक्षकको घोषणा गर्ने एन्फाका सदस्यले बताए । ती सदस्यका अनुसार रोसले मासिक १० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् । 

रोससँग कोरियादेखि बुन्डेस लिगको अनुभव 
खेलाडीका रूपमा अस्ट्रेलियन टोलीबाट कहिल्यै नखेलेका रोससँग व्यावसायिक प्रशिक्षक अनुभव राम्रो छ । सन् २०२२ को एएफसी एसियन कपमा दक्षिण कोरिया उपविजेता हुँदा उनी नै सहायक प्रशिक्षक थिए । उपाधि भिडन्तमा दक्षिण कोरिया चीनसँग पराजित भएको थियो । उनले जर्मन बुन्डेस लिगअन्तर्गत फ्य्रांकफर्टको महिला टोलीको भिडियो अनालिस्टका रूपमा काम गर्ने अवसर पाए । सन् २०१५ मा यस क्लबले महिला च्याम्पियन्स लिग हात पारेको थियो । व्यावसायिक प्रशिक्षक करिअर अगाडि बढाउने क्रममा उनले युइएफएको प्रो लाइसेन्स लिए । प्रो लाइसेन्स पाएपछि उनले दुई वर्ष फ्र्यांकफर्टको प्रशिक्षकका रूपमा काम गरे । २०१७ मा उनले स्विडेनको प्रिमियर महिला लिग क्लब भिट्जोका मुख्य प्रशिक्षकका रूपमा काम गरे । सन् २०२१ मा उनले चीनको यू–१५ महिला टोलीसमेत सम्हाले । पछिल्लो समयम उनी युएईको युनाइटेड एफसीको सहायक प्रशिक्षकका रूपमा कार्यरत थिए ।

महिला टोली पनि प्रशिक्षकविहीन
पुरुषतर्फ मात्र नभएर महिला राष्ट्रिय फुटबल टोली पनि मुख्य प्रशिक्षकविहीन छ । गत कात्तिकदेखि महिला टोलीमा मुख्य प्रशिक्षक छैनन् । काठमाडौंमै गत कात्तिकमा भएको साफ फुटबल प्रतियोगितामा राजेन्द्र तामाङले फाइनलमा बंगलादेशसँग पराजित भएपछि पदबाट राजीनामा दिएका थिए । महिला टोलीले फेब्रुअरीमा दशरथ रंगशालामा किर्गिस्तान, म्यानमार र लेबनानसँग फोर नेसन्स कप खेल्दै छ । प्रतियोगिताअघि एन्फाले नयाँ प्रशिक्षक नियुक्ति गर्नेछ ।

२५ मार्चमा नेपालको अन्तर्राष्ट्रिय खेल
नेपालले आगामी २५ मार्चमा एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरण खेल्नेछ । एन्फाले मुख्य प्रशिक्षक घोषणा गर्दा रोसको पहिलो आधिकारिक खेल नै मलेसियाविरुद्ध हुनेछ । नेपालको समूह ‘एफ’मा भियतनाम, लाओस र मलेसिया छन् । नेपालले २५ मार्चमा होम म्याच मलेसियासँग खेल्ने तय छ । तर, एन्फाले दशरथ रंगशालाभन्दा मलेसियामै प्रतिस्पर्धा गर्ने योजना बनाएको छ । मलेसियासँगको खेलपछि नेपालले १० जुनमा लाओससँग अवे खेल खेल्नेछ । ९ अक्टोबरमा नेपाल र भियतनामबिचको खेल अवे मैदानमा हुनेछ । १४ अक्टोबरमा एसिया कप छनोटअन्तर्गत भियतनामसँगै होम खेल हुनेछ । १८ नोभेम्बरमा मलेसियासँग अवे खेल खेल्ने तालिका रहेको छ । सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपका लागि समूह विजेता मात्र छनोट हुनेछ ।

सुझावित समाचार