राष्ट्रिय क्रिकेट टोलीका सदस्य लोकेश बमले आक्रामक शतकीय इनिङ्स खेलपछि त्रिभुवन विश्वविद्यालयले जय नेपाल कप क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल विश्वविद्यालयलाई १६७ रनको फराकिलो अन्तरले हराएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिलो ब्याटिङ गरेको त्रिविले २० ओभरमा दुई विकेट गुमाएर २११ रनको विशाल योगफल बनाएको थियो । २१२ रनको विशाल लक्ष्य पछ्याएको पूर्वाञ्चल ८.५ ओभरमा ४४ रनमा अलआउट भयो । पूर्वाञ्चलका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
१७४ रनको साझेदारी
घरेलु मैदानमा त्रिवि विश्वविद्यालयले उत्कृष्ट सुरुवात पायो । ओपनरद्वय लोकेश र ऐस भण्डारीले पहिलो विकेटका लागि १६.६ ओभरमा १७४ को शतकीय इनिङ्सको साझेदारी गरेका थिए । धीरज यादवले पहिलो विकेटका रूपमा भट्टराईलाई क्याचआउट गराए । भट्टराईले ५७ बलमा १४ चौकाको सहयोगमा ८८ रनको योगदान दिए । लोकेशले धेरैजसो स्ट्राइक आफूमा सीमित राखी विस्फोटक ब्याटिङ गरे । अन्तिमसम्म नटआउट रहेका उनले केवल ५३ बलमा समान सात चौका र छक्का प्रहार गरी ११३ रनको शतकीय इनिङ्स खेले । उनले १९४.३४ को स्ट्राइकमा ब्याटिङ गरे ।
त्रिविका लागि भीम सार्कीले सात बलमा समान एक चौका र छक्का प्रहार गरी १६ रन बनाए । बलिङका क्रममा पूर्वाञ्चलका अभय साह र अमितकुमार मण्डल सर्वाधिक खर्चिलो देखिए । अभयले चार ओभरमा ४७ रन दिए । अमितकुमारले दुई ओभरमा ३६ रन दिएका थिए । नितेश यादवले सात ओभरमा ३८ रन जोडे । धीरज यादवले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए ।
अमितले लिए चार विकेट
विशाल लक्ष्य पछ्याएको पूर्वाञ्चलले त्रिविका अमितकुमारको घातक बलिङको सामना गर्न सकेनन् । अमितले केवल तीन ओभर बलिङमा एक मेडन राखी चार विकेट लिन सफल भए । १.६७ इकोनोमी रनरेटमा बलिङ गरेका अमितकुमारले ५ रन मात्र दिए । उनले आफ्नो स्पेलमा १३ डट बल फ्याँके । यसैगरी अलराउन्डर भीम सार्कीले दुई ओभरमा ६ रन खर्चेर दुई विकेट लिए । मुकेश ओझा र सुगत भण्डारीले समान एक विकेट लिए । पूर्वाञ्चलको ब्याटिङमा सर्वाधिक रन नै अतिरिक्त रह्यो । त्रिविका बलरले १९ अतिरिक्त रन दिएका थिए । ब्याटिङमा ओपनर सत्यमान मलिकले ७ रन जोडे । उनले १० बलमा एक चौका प्रहार गरे । यसबाहेक अन्य कुनै पनि ब्याटरले गतिलो रन बटुल्न सकेनन् । तीन खेलाडी डकआउट भए ।
लखनउसँग बिहारको हार
त्रिवि मैदानमा बिहीबार भएको पहिलो खेलमा भारतको लखनउ विश्वविद्यालयले बिहार विश्वविद्यालयलाई पाँच विकेटले हराएको छ । लखनउले १०७ रनको सामान्य लक्ष्य १८.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । लखनउका लागि मनान कान्दपालले ४१ बलमा ३६ रनको योगदान दिए । यश वद्र्धनले २५ बलमा २७ रन जोडे । बिहारले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन जोडेको थियो । बिहारका लागि सलव सिंहले ३३ बलमा ४१ रन बटुले । शुभमले २४ बलमा २३ रन जोडे । नेपाल विद्यार्थी संघले आयोजना गरेको प्रतियोगितामा नेपालका चार, भारतका तीन तथा बंगलादेशको एक विश्वविद्यालयले जय नेपाल कपमा प्रतिस्पर्धा गरिरहेका छन् ।