आइसिसी महिला यू–१९ टी–२० विश्वकपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाल एक विकेटले पराजित भएसँगै सुपर सिक्सको सम्भावना कम भएकाे छ । अब, नेपालले अन्तिम खेल बुधबार अस्ट्रेलियासँग खेल्नेछ ।
यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपाल पहिलोपटक विश्वकप खेलिरहेको छ । टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा स्कटल्यान्ड १८.४ ओभरमा नाै विकेट गुमाउँदै पहिलो जित निकाल्यो ।
दोस्रोपटक विश्वकप खेलिरहेको स्कटल्यान्डको यो ऐतिहासिक जित हो । यसअघि टोली सबै खेलमा पराजित भएको थियो । स्कटल्यान्डकी पिपा स्परोउलले ४७ बलमा तीन चौकासहित सर्वाधिक ३५ रन बनाइन् । गाब्रियल फेन्टेन्लाले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । नेपालकी रचना चौधरी र सिमना केसीले समान दुई विकेट हात पारे । कप्तान पूजा महतो र कृष्मा गुरुङले एक विकेट लिए ।
यसअघि नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकासहित सर्वाधिक २७ रनको बनाइन् । ओपनर सावित्री धामीले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्यान्डका लागि मेइसी मकेइराले ३.५ ओभरमा १५ रन खर्चिँदै सर्वाधिक पाँच विकेट लिइन् । योसँगै मकेइरा प्रतियोगितामा पाँच विकेट हासिल गर्ने एक मात्र बलर बनेकी छिन् । त्यस्तै, एम्मी बाल्दी र नेमा शेखले समान दुई विकेट हात पारे ।