६ महिनामा पुँजीगत खर्च निराशाजनक

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा सरकारको पुँजीगत खर्च गर्ने क्षमता न्यून देखिएको छ । यो अवधिमा ५६ अर्ब ९४ करोड रुपैयाँ मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । चालू आवका लागि तीन खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्च विनियोजन भएको छ ।

अर्थका अनुसार चालू र वित्तीय व्यवस्थातर्फको खर्च भने बढेको छ । चालू खर्च सात खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन भएकोमा दुई खर्ब ६६ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने ऋणको साँवा–ब्याज भुक्तानीका लागि विनियोजित तीन खर्ब ६७ अर्ब रुपैयाँमध्ये एक खर्ब ५८ अर्ब रुपैयाँ भुक्तानी भइसकेको अर्थले जनाएको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ पाँच खर्ब ६७ अर्बको लक्ष्य रहेकोमा दुई खर्ब ३७ अर्ब अर्थात् ४१.८ प्रतिशत प्रगति भएको मन्त्रालयले जनाएको छ । राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको छैन । पुससम्म ६ खर्ब ७२ अर्ब रुपैयाँको राजस्व संकलन लक्ष्य रहेकोमा पाँच खर्ब ५९ अर्ब रुपैयाँ मात्रै उठेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक व्यापारमा भने केही सुधार आएको छ । ६ महिनासम्म आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशतले बढेको छ भने विप्रेषणमा नियति रूपले सुधार आई ४.४ प्रतिशतले बढेको छ ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि सरकारले निरन्तर प्रयास गरिरहेको बताए । उनले बैंक र अर्थतन्त्र डुब्न लाग्यो भनी गलत प्रचारबाजी भइरहेको पनि बताए । ‘बैंकहरू डुबे, अर्थतन्त्र डुब्यो भन्ने हल्ला फैलाइएको छ, तर यथार्थ यो होइन,’ उनले भने, ‘न बैंकहरू डुबेका छन्, न अर्थतन्त्र डुबेको छ । हामी अर्थतन्त्र र बैंक पनि डुब्न दिँदैनौँ ।’

अध्यादेशमार्फत २० प्रतिशतभन्दा बढी नाफा लिएको भेटिए कारबाही गर्ने व्यवस्थालाई हटाउनु सकारात्मक भएको अर्थ मन्त्रालयले जिकिर गरेको छ ।

सुझावित समाचार