जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनसम्बन्धी मुद्दाका आरोपीहरूमाथि दुईवटा अभियोजन दर्ता गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बिहीबार र आइतबार जिल्ला अदालत रुपन्देहीमा पेस गरेको सहकारीसम्बन्धी मुद्दा आइतबार दर्ता भएको हो।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पेस गरेको सहकारी ठगीसम्बन्धी मूल मुद्दामा २८ जना, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी थप अभियोगपत्रमा १७ जना र पूरक मुद्दा अभियोगपत्रमा मूल मुद्दाका आठजनासहित पूरक मुद्दाका १४ जनासमेत गरी २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीले आइतबार मुद्दा दर्ता गरेको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई थप संगठित अपराध अभियोजन थप गरिएको र ११ जनालाई ठगीमा मुद्दा चल्ने उनको भनाइ छ।
सहकारी ठगीसम्बन्धी मूल मुद्दामा गीतेन्द्रबाबु राईसहित देवेन्द्रबाबु राई, कुमार रम्तेल, सागर केसी, नवीन अछामी, हेमन्त अधिकारी, असरफ अलि सिद्धिकी, भूपेन्द्र राई, आमेप्रकाश गुरुङ, राजु बराल, सुरज श्रेष्ठ, धीरजकुमार दास, बुद्धि गुरुड, आशिष आनन्द, मजहर मोहमद, दिनेश रोक्का, दीपेशकुमार पुन, दुर्गा चापागाई पाण्डे, भवीश्वर अर्याल, निता थापामगर, दीपक न्यौपाने, रोशनी गुरुड, भगवती लिगल ढुंगाना, मनप्रसाद गुरुङ, पौबहादुर गुरुङ, स्याड्रिक राज भण्डारी, आषिश रानाभाट र कविता तामाङ रहेका छन्।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत रुपन्देहीले गीतेन्द्रबाबु राईसहित १७ जनालाई मुद्दा दर्ता गरेको छ। जसमा दिनेश रोक्कालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण तीनवटै मुद्दा दर्ता भएकोमा अन्यलाई सहकारी ठगी र संगठित अपराध मुद्दा दर्ता भएको छ। जसमा देवेन्द्रबाबु राई, कुमार रम्तेल, सागर केशी, नवीन अछामी, हेमन्त अधिकारी, असरफ अलि सिद्धिकी, भूपेन्द्र राई, आमेप्रकाश गुरुङ, राजु बराल, सुरज श्रेष्ठ, धीरजकुमार दास, बुद्धि गुरुङ, आशिष आनन्द, मजहर मोहमद र दीपेशकुमार पुन रहेका छन्।
यसैगरी, पूरक मुद्दा अभियोगपत्रमा मूल मुद्दाका आठजना गीतेन्त्रबाबु राई, देवेन्द्रबाबु राई, कुमार रम्तेल, सागर केसी, नवीन अछामी, हेमन्त अधिकारी, असरफ अलि सिद्धिकी, भूपेन्द्र राई रहेका छन् भने पूरक मुद्दाका १४ जना अनन्तबाबु राई, छविलाल जोशी, रवि लामिछाने, लक्ष्मीप्रसाद पौडेल, विशाल तामाङ, दीपक लामा, भगवती बम्जन, विज्ञान राई, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, रविना रिमाल, श्रीबल्लभ नेपाल, नरेश जिसी र शिबबहादुर गुरुङ रहेका छन्।
अदालतले सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गीतेन्द्रबाबु राई (जिबी) सहित १७ जनाविरुद्ध थप अभियोजन र गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध पूरक अभियोजन दर्ता गरेको श्रेस्तेदार ज्ञवालीले बताए।
इलाका प्रहरी कार्याय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४२ जनाबाट एक अर्ब १२ करोड बिगो दाबीसहित गत २६ माघमा जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
यसअगाडि प्रहरीले २८ जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता गरेकोमा उनीहरूमध्ये १७ जनाले संगठित रूपमा सहकारी ठगी गरेको अनुसन्धान प्रतिवेदनमा भेटिएकाले २८ जनामध्येबाट १७ जनाविरुद्ध संगठित सहकारी ठगी मुद्दा दर्ताका लागि जिल्ला अदालत पठाएको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए।
जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित पूरक मुद्दाका १४ र पुराना २८ जनामध्येबाट ८ जना गरी २२ जनालाई संगठित सहकारी ठगीमा मुद्दा दर्ताका लागि जिल्ला अदालतमा फाइल पठाएको थियो। आइतबार मुद्दाका लागि सरकारी वकिलको कार्यालयले २२ जनाबाट ५५ करोड २२ लाख रुपैयाँ बिगो माग दाबी गरेको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए।
प्रहरीले बुझाएको प्रतिवेदनमा रवि लामिछानेलाई चार करोड १३ लाख र छविलाल जोशीलाई चार करोड २८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ । प्रहरीले यसअघि गीतेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।
५ असोजमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित थप १४ विरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले थप पूरक प्रतिवेदन बनाएको थियो ।
सुप्रिम सहकारीबाट लामिछानेले व्यक्तिगत दुई करोड रुपैयाँ ऋण लिएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, सामूहिक दायित्वमा रहने गरी दुई करोड १३ लाख ऋण लिएको प्रहरी श्रोतको भनाइ छ ।
छबिलाल जोशीले दुई करोड ५० लाख व्यक्तिगत र एक करोड ७८ लाख सामूहिक दायित्व हुने गरी चार करोड २८ लाख अपचलन गरेको प्रहरी प्रतिवेदनमा उल्लेख रहेको स्रोतको भनाइ छ ।
रविले लिएको भनिएको रकम सुप्रिमकी कर्मचारी रोशनी गुरुङले लामिछानेका नाममा ग्लोबल आइएमई बैंकको खातामा १८ चैत ०७७ मा चार लाख सेवा शुल्क कटाएर एक करोड ९६ लाख रुपैयाँ जम्मा गरेकी थिइन्।
सरकारी वकिलको कार्यालयले मूल अभियोगमा ८६ करोड बढी, थप अभियोगमा दुई करोड सात लाखभन्दा बढी र पूरक अभियोगमा ५५ करोड ५८ लाखभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता पौडेलले जानकारी दिए।
सुप्रिम सहकारीका १० हजार तीन सय ९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको उल्लेख छ । त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख छ।
