दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ । गत २८ पुसको मूल्यांकनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले बिहीबार एक करोड दुई लाख ८७ हजार ९२६ रुपैयाँ दुई पैसा कर दाखिला गरेको हो ।
वडासचिव केदार रिमालका अनुसार आर्थिक वर्ष ०४९/५० देखि ०८१/८२ सम्मको घरजग्गा–सम्पत्ति करको मूल्यांकन गरेर कर दाखिला भएको हो । संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक संघसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले पत्राचार गरेको छ ।
महानगरपालिकाले जारी गरेको राजस्व ऐन ०७५ तथा सालबसाली जारी हुने आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा संकलन प्रक्रियाको बारेमा व्यवस्था गर्ने गरेको छ । यसअनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा–सम्पत्ति कर गणना हुने व्यवस्था छ । संवैधानिक र कानुनी व्यवस्थाबमोजिम पत्राचार गरेर कर दाखिला गर्न अनुरोध गरिएको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए ।
महानगरपालिकाले पत्राचार गरेपछि करदाताहरू सम्पर्कमा आउन थालेका छन् । राजस्व विभाग प्रमुख अधिकारीले नियमित कर नतिर्नेहरूमाथिको कारबाहीका सन्दर्भमा, महानगरपालिकाको आर्थिक ऐनले गरेको ‘बक्यौता कर असुलीसम्बन्धी व्यवस्था’ बमोजिम असुल गरिने बताए ।
ऐनबमोजिम कर दाखिला नगर्नेहरूलाई राजस्व विभाग वा वडा कार्यालयले पहिलोपटक ३५ दिनको समय तोकेर पत्र, इमेल, वा म्यासेजमार्फत कर दाखिला गर्न पत्राचार गर्ने जनाएको छ । समय अपुग भएर थप समय माग गरेमा राजस्व विभागका प्रमुखको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले बढीमा १० दिनसम्म अवधि थप गर्न सक्ने व्यवस्था छ ।