- सरकार गठनको ६ महिनापछि मन्त्रीहरूलाई कांग्रेसको निर्देशन
- सभापति देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकमा मन्त्रीहरूले गरे ६ महिनामा गरेका काम र भविष्यका योजनाबारे ‘ब्रिफिङ’
सरकारले ६ महिना पूरा गरेलगत्तै संसद्को पहिलो तथा प्रमुख सत्तासाझेदार दल कांग्रेसले पार्टीको तर्फबाट सहभागी मन्त्रीहरूको कार्यसम्पादन ब्रिफिङ लिँदै प्रभावकारी काम गर्न निर्देशन दिएको छ । बिहीबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको संसदीय दल कार्यसमिति बैठकमा आमन्त्रित मन्त्रीहरूसँग उनीहरूले ६ महिनामा गरेका काम र भविष्यमा गर्न थालेका कामबारे ब्रिफिङ लिइएको हो । तर, विवादित मन्त्रीहरूबारे बैठकले केही बोलेको छैन । सरकारमा कांग्रेसका तर्फबाट १० मन्त्री र २ राज्यमन्त्री छन् ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बैठकमा सरकारको कामबारे पार्टीलाई जानकारी गराइएको र पार्टीबाट आवश्यक निर्देशन भएको बताए । उनका अनुसार जनस्तरमा महसुुस हुने गरी र परिणाम ल्याउने गरी काम गर्ने विषयमा बैठक केन्द्रित थियो । ‘यो नियमित बैठक हो, ठोस विषयकेन्द्रित छलफल थिएन । मन्त्रीहरूका काम प्रभावकारी बनाउने विषयमा छलफल भयो,’ उनले भने, ‘आवश्यक सहयोग र समन्वयका लागि पार्टीले निर्देशन दिएको छ ।’ मन्त्री पौडेलका अनुसार सभापति देउवाले मन्त्रीहरूलाई सातबुँदे सहमतिअनुसार अगाडि बढ्न निर्देशन दिएका थिए । ‘सातबुँदे सहमतिअनुसार नागरिकका सेवा प्रवाह सुशासन र आर्थिक समृद्धिमा केन्द्रित रहनुहोला । अब संसद् पनि सुरु हुँदै छ । तपाईंहरूको तयारी के छ ? के सहयोग गर्नुपर्छ ?’ बैठकमा सभापति देउवाको भनाइ उद्धृत गर्दै पौेडेलले भने ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र प्रभावकारी बनाउने विषयमा नेताहरूबाट सुझाव आएको बताए । ‘मन्त्रीहरूले आफूले सम्हालेको मन्त्रालयका बारेमा विस्तृत जानकारी दिनुभयो । राम्रा काम के भए, कसरी प्रभावकारी बनाउने र कसरी अघि बढ्ने भन्ने विषयमा ब्रिफिङसँगै शीर्ष नेताबाट सुझाव पनि आएको छ,’ उनले भने । प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने विषयमा नियमित छलफल गर्नेसहित सातबुँदे निर्देशन दिइएको छ । उनका अनुसार मन्त्रीहरूलाई सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने तथा महत्वपूर्ण विषयमा नियमित छलफल गर्ने, विभिन्न समितिमा विचाराधीन विधेयक टुंगोमा पुर्याउन सक्रियतासहित कार्य गर्ने र आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउन मन्त्रीलाई निर्देशन दिइएको छ ।
यसैगरी चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न–गराउन आवश्यक पहलकदमी लिन, हप्तामा निश्चित दुई दिन खुला भेटघाट गर्न, नागरिकको गुनासो सुन्न, सुझाव लिन र बाँकी पाँच दिन सम्पूर्ण रूपमा मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन छ । यसबाहेक सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्न तथा पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागहरूबारे महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिन कांग्रेसले मन्त्रीहरूलाई निर्देशन गरेको छ । बैठकमा सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुई ठुला दल सहभागी भएर सरकार बन्दा स्थिरताको सन्देश गएको जिकिर गरेका छन् । ‘दुई दलको सरकार बनेसँगै राजनीतिक स्थिरताको सन्देश गएको छ । जुन अस्थिरतामा खेल्न चाहने शक्तिलाई पचेको छैन । केही भएन भन्ने भाष्य बनाउन खोजिएको छ, तर सत्य त्यो होइन,’ बैठकमा उनको भनाइ थियो, ‘सरकारले सोचेअनुसार काम नभएको हुन सक्छ, तर कतिपय नीतिगत काम भएका छन् । सरकारले काम गरिरहेको छ । परिणाम देखिन समय लाग्छ ।’
गृहमन्त्री रमेश लेखकले सरकारको काम नागरिकले महसुस गरेको जिकिर गरेका थिए । ‘सातबुँदे सहमतिअनुसार सरकार चलेको छ । नागरिकलाई सहज सेवा प्रवाह भएको छ । मुुलुकमा सुशासन कायम गर्ने र आर्थिक समृद्धिका सवालमा हामीबिच एकरूपता छ । सत्तासहकार्यमा कुनै अवरोध छैन,’ बैठकमा गृहमन्त्री लेखकले भनेका थिए ।
कृषिमन्त्री रामनाथ अधिकारीले आफूले परिणाम देखिने गरी काम गरिरहेको बताएका थिए । उनले मन्त्रालयलाई बजेट कम भएको गुनासो गरेका थिए । जसकारण सदाझैँ रासायनिक मलको अभाव कम गर्न नसकिएको बताएका थिए । ‘रासायनिक मलका लागि ६० अर्ब आवश्यक पर्छ, तर बजेट आधा मात्रै छ । यो वर्ष पनि रासायनिक मलको अभाव पूरा हुने अवस्था रहेन । नेतृत्वले समन्वय गरिदिनु आवश्यक छ,’ अधिकारीले भनेका थिए ।
खेलकुदमन्त्री चौधरीले सीमित स्रोतबिच काम गर्दा अपेक्षाकृत काम हुन नसकेको बताए । ‘सीमित स्रोतबिच काम गरिरहेका छौँ । सोचे जसरी काम गर्न सकेको अवस्था छैन । दुई दल मिलेर बनेको सरकार छ । नेतृत्व तहले समाधान निकाल्नुपर्छ,’ उनको भनाइ थियो । त्यस्तै पर्यटन, स्वास्थ्य, कानुन, ऊर्जा, परराष्ट्र र वनमन्त्रीले पनि बैठकमा आफूहरू परिणाम निकाल्न केन्द्रित रहेको बताएका थिए ।
प्रमुख सचेतक घिमिरेले बैठकमा अध्यादेशबारे छलफल भएको, तर कांग्रेसमा कुनै फरक मत नरहेको जिकिर गरे । ‘तत्काल नै जरुरी रहेकाले दुई दलबिच सल्लाह गरेर अध्यादेश ल्याइएको हो । केही आर्थिक सुधार र सुशासनका पक्षमा सरकारले केही गर्न नसकेको सन्देश जनतामा प्रवाह हुने भएकाले अध्यादेश ल्याउनुपरेको हो । यस विषयमा कांग्रेस स्पष्ट छ,’ उनले भने । बैठकले संविधान कार्यान्वयनका अत्यावश्यक विधेयक संसद्मा छिटो ल्याउन आग्रह गर्ने निर्णय लिएको छ । साथै, संसदीय समितिमा रहेका विधेयकलाई तत्काल पास गर्न सहजीकरण गर्ने र नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय भएको घिमिरेले बताए ।
बैठकमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा तथा प्रमुख सचेतक घिमिरे साथै संसदीय दल कार्यसमिति सदस्यहरू सहभागी थिए । सहमहामन्त्री जीवन परियारका अनुसार बैठकमा सहमहामन्त्रीहरूलाई सहभागी गराइएको थिएन । बैठकपछि गृहमन्त्री लेखकले कांग्रेस र नेकपा एमालेबिच सत्तासहकार्यमा कुनै समस्या नरहेको दाबी गरेका छन् । ‘कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हामीबिचमा कुनै समस्या छैन । सरकारमा कुनै बाधा, व्यवधान र अप्ठ्यारा छैनन्,’ उनले भने, ‘दुई दलका बिचमा कुनै समस्या छैन भन्ने नै हाम्रो निष्कर्ष हो ।’
बडूको संयोजकत्वमा कांग्रेस संसदीय दल अनुशासन समिति
प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकले दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समिति गठन भए पनि संसदीय दलको अनुशासन समिति बनेको थिएन । बैठकले संसदीय दलको विधानअनुसार प्रत्येक संसदीय समितिमा एक/एकजना संयोजक तोक्ने व्यवस्थाअनुसार रिक्त रहेकोमा नियुक्त गर्ने निर्णय भएको छ । जसअनुसार सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई जिम्मेवारी दिइएको छ ।
ऊर्जामन्त्री दीपक खड्काले बैठकमा सुनाए– ममाथि मन्त्रालयमै हातपात भयो
बिहीबारको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले आफूमाथि मन्त्रालयभित्रै हातपात भएको सुनाएका छन् । लाइसेन्स वितरणदेखि विद्युत् प्राधिकरणमा हस्तक्षेपका विषयमा मन्त्री विवादमा छन् । प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार मन्त्री खड्काले गत शुक्रबार आफूमाथि मन्त्रालयमै दुर्व्यवहार भएको बताएका थिए । ‘केही दिनअघि दुर्व्यवहार भएको रहेछ । उहाँले बैठकमा भनेपछि यसबारे जानकारी भयो,’ घिमिरेले नयाँ पत्रिकासँग भने ।
बैठकमा यो विषय सुनेपछि ‘एक साता हुनै लाग्दा पनि घटनाबारे मलाई किन भन्नुभएन ?’ भन्दै गृहमन्त्री लेखकले प्रश्न गरे । जवाफमा ऊर्जामन्त्री खड्काले आफूले सामान्य रूपमा लिएको र प्रहरीले दुर्व्यवहार गर्नेलाई नियन्त्रणमा लिएको बताएका थिए । ‘दुर्व्यवहार गर्नेलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिए । घटना सामान्य भएकाले केही भनिनँ,’ खड्काले भनेका थिए । खड्काले आफूलाई गोरखाका एक व्यक्तिले हातपात गरेको बताएका थिए । तर, व्यक्तिका विषयमा आफूलाई जानकारी नभएको र प्रहरीले मानसिक सन्तुलन ठिक नभएको भन्दै छाडेको जानकारी पाएको बताएका थिए ।
अध्यादेशमा गम्भीर त्रुटि भयो : शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गैरआवासीय नेपालीलाई दिन लागिएको सुविधासम्बन्धी अध्यादेशमा गम्भीर त्रुटि रहेको भन्दै विरोध जनाएका छन् । शर्माले संविधानले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक अन्य अधिकार दिने गरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ, तर अध्यादेशमा गरिएको व्यवस्था फरक रहेको बताए । ‘संविधानको भाग २ को धारा १४ मा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छ । नागरिकता जोडिएपछि भिसाको आवश्यकता हुँदैन । तर, अध्यादेशमा १० वर्षसम्म भिसा नचाहिने भनिएको छ । यो गम्भीर त्रुटि हो । नागरिक पनि हौँ भन्ने र भिसा पनि चाहिन्छ भन्ने कुरा संविधानको भावनाविपरीत छ,’ उनले भने । शर्माले यी विषय पार्टी बैठकमा प्रस्तुत गरेको र अध्यादेशका अरू विषयमा भने बैठकमा कुनै विरोध नभएको बताए ।