फर्कियो धनगढीमा प्रधानमन्त्री कप टी–२० महिला क्रिकेट

नेपाल प्रिमियर लिग, जय ट्रफीपछि क्यान अब प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला कपमा केन्द्रित

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

घरेलु संरचना बलियो तथा खेलाडीलाई व्यस्त बनाउने योजनाअनुरूप नेपाल क्रिकेट संघ (क्यान) अगाडि बढिरहेको छ । क्यानले गत १५ मंसिरदेखि तीन प्रमुख क्रिकेट प्रतियोगितालाई प्राथमिकतामा राखेर आयोजना गरेको छ । नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरीकरण गर्न पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) भव्यताका साथ आयोजना भयो । सो प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेटमा नाम कमाएका चर्चित क्रिकेटरले सहभागिता जनाएका थिए । 

एनपिएलपछि पुरुष खेलाडीलाई रातो बलमा अभ्यस्त पार्न क्यानले आफ्नै संस्थापक अध्यक्ष जयकुमारनाथ शाहको नाममा जय ट्रफी क्रिकेट प्रतियोगिता सुरु गर्यो । यसमा नेपाल पुलिस, त्रिभुवन आर्मी, बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका छन् । पुरुष खेलाडी एनपिएल र जय ट्रफीको अनुभव बटुल्ने अवसर पाउँदा अब महिला क्रिकेटर पनि प्रधानमन्त्री कपमा केन्द्रित हुनेछन् । क्यानले मंगलबारदेखि सुदूरपश्चिमको फाप्ला मैदानमा प्रधानमन्त्री कप टी–२० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सुरु गरेको छ । धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट फर्किएको चार वर्षपछि हो । यसअघि ०७९ सालमा यहाँ सो प्रतियोगिता भएको थियो । प्रतियोगितामा राष्ट्रिय टोली तथा युवा महिला खेलाडीले प्रतिभा देखाउने अवसर पाएका छन् । 

१२ माघसम्म चल्ने महिला टी–२० फम्र्याटमा सात प्रदेश तथा दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्नेछन् । फाप्ला मैदानमा सञ्चालन भइरहेको प्रधानमन्त्री कप टी–२० राष्ट्रिय महिलामा स्थानीय खेलाडी पनि उत्साहित छन् । यस प्रतियोगितामा राष्ट्रिय टोलीका महिला खेलाडी सहभागी छन् । नेपाली सिनियर टोलीकी कप्तान इन्दु बर्माले दुवै पुस्ताका खेलाडीलाई अवसर भएको बताइन् । ‘प्रतियोगिता आफैँमा हुनु राम्रो पक्ष हो । हामी पुराना र नयाँ खेलाडीले यसलाई एउटा अवसरका रूपमा लिनुपर्छ,’ इन्दुले भनिन् । उनी नेपाल एपिएफ क्लबमा आबद्ध छिन् । पुरुषको तुलनामा महिलातर्फका खेल कम हुने गर्छन् । यसले पनि महिला खेलाडीले एक्सपोजर पाउन नसकेको गुनासो खेलाडीका छन् । ‘ यो प्रतियोगिताले महिला क्रिकेटको स्तर बढाउने विश्वास लिएका छौँ,’ इन्दुले भनिन् ।

विजेताले पाँच लाख पाउने 
विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । व्यक्तिगत विधामा प्लेयर अफ द सिरिजले ५० हजार रुपैयाँ जित्नेछिन् । उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही २५ हजार पाउनेछन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको व्यवस्थापनमा हुने यो प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा लुम्बिनी, गण्डकी, कर्णाली, एपिएफ र सुदूरपश्चिम छन् । यसैगरी, समूह ‘बी’मा कोशी, बागमती, मधेस र आर्मी रहेका छन् । क्यानले प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगिताको समूह चरणपछि सुपर–४ को अवधारणा राखेको छ । सुपर–४ चरणमा पुग्न प्रत्येक समूहबाट शीर्ष दुई टोली भिड्नेछन् । यसै सुपर–४ का शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

 एपिएफ १११ रनले विजयी

प्रतियोगिताको पहिलो दिन मंगलबार उपाधि दाबेदार एपिएफ क्लबले सानदार जित निकालेको छ । एपिएफले कर्णाली प्रदेशलाई १११ रनको फराकिलो अन्तरले हरायो । पहिले ब्याटिङ गरेको एपिएफले २० ओभरमा एक सय ८१ रनको योगफल बनायो । प्रत्युत्तरमा कर्णालीले २० ओभरमा सात विकेटको नोक्सानीमा ७९ रन मात्र बनायो । पहिलो खेलमै जित दिलाउने क्रममा एपिएफकी करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् । रेखा रावल र सुमन विष्टले समान एक विकेट हात पारे । यसअघि एपिएफको ब्याटिङमा ममता चौधरी र कप्तान इन्दुले अर्धशतकीय इनिङ्स खेलेका थिए । 

ममताले नटआउट ७८ रनको योगदान दिइन् । इन्दुले ५२ रन र राजमती ऐरीले २२ रन जोडे । कर्णालीकी दीक्षा पुरीले एक विकेट लिइन् । कर्णालीको ब्याटिङमा दीक्षा पुरीले १७ रन तथा रमा बुढाथोकी १० रन बनाएका थिए । यसअघि उद्घाटन खेलमा घरेलु टोली सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ७ विकेट गुमाउँदै ५५ रनको झिनो योगफल तयार पार्यो । सुदूरपश्चिमले ९.५ मा तीन विकेटको क्षतिमा ५६ रन पूरा गर्यो ।

शीतलहरका कारण प्रत्येक इनिङ्स १५ ओभर
प्रतियोगिताको पहिलो दिन शीतलहर र हुस्सुका कारण खेल प्रभावित बनेको थियो । उद्घाटन खेल निर्धारित समयमा हुन सकेन । अम्पायरले सुदूरपश्चिम र गण्डकीबिचको खेलमा प्रत्येक इनिङ्स १५ ओभरमा झारेका थिए । पहिलो खेलमा सुदूरपश्चिमका लागि रेवती धामीले सर्वाधिक २१ रनको योगदान दिइन् । 

गण्डकी प्रदेशकी अपेक्षा बुढाथोकी र आकृति तिवारीले समान एक विकेट लिए । गण्डकीको ब्याटिङमा रेखा तामाङले सर्वाधिक १३ रन र कप्तान सिर्जना पौडेलले १० रन जोडे । सुदूरपश्चिमकी रेवतीले सर्वाधिक ४ विकेट लिइन् । पहिलो खेल जितेर सुदूरपश्चिमले २ अंक जोडेको छ । 

सुझावित समाचार