म्याद गुज्रेका खाद्यपूरक सामग्रीमा नक्कली लेबल लगाएर बिक्री गर्दै आएका विराटनगरका एक थोक व्यापारीको गोदाममा राजस्व अनुसन्धान कार्यालयले छापा मारेको छ । बिरामीको स्वास्थ्य अवस्थामा खेलबाड गर्दै म्याद सकिएको खाद्यपूरक (न्युट्रास्युट्रिकल) सामग्रीमा उत्पादन र म्याद गुज्रिएको मिति मेटाई नक्कली मितिको लेबल राखेर बिक्री–वितरण गरेको आरोपमा विराटनगरका व्यापारी विपिन झाको गोदाममा आइतबार साँझ छापा मारेर अवैध सामग्री बरामद गरेको हो ।
व्यापारी झाले विराटनगर महानगरपालिका– ६ मा रहेको तीन तलाको आफ्नै घरमा तीनवटा कोठालाई गोदाम बनाएर खाद्यपूरक सामग्रीको थोक व्यापार गर्दै आएका थिए । आयातकर्तासमेत रहेका झा ‘न्युट्रास्युटिकल’ एसोसिएसन मोरङका अध्यक्षसमेत हुन् । छापा मार्दा अवैध खाद्यपूरक सामग्री भेटिएपछि गोदाम सिल गरेर राजस्व अनुसन्धान एकाइ इटहरीले तीन दिनभित्र झालाई कार्यालयमा हाजिर हुन आउन भनी परिपत्र गरेको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार झाले म्याद सकिएको न्युट्रास्युटिकलको लेबल मेटाएर पुनः नयाँ उत्पादन मिति राखेर बिक्रीका लागि बजारमा पठाउने तयारी गर्दैगर्दा प्रहरीले बरामद गरेको थियो । राजस्व अनुसन्धान र प्रहरीको टोलीले म्याद सकिएका खाद्यपूरक सामग्रीमा छाप लगाउने ४० वटा स्टाम्पसमेत बरामद गरेको छ । राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुइँटेलका अनुसार झाले नक्कली कागजातप्रयोग गरेर अवैध रूपमा अनुमति नै नभएको खाद्यपूरक सामग्री आयात गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
न्युट्रास्युटिकल (खाद्यपूरक) सामग्री एकप्रकारको भिटामिन हो । यसलाई चिकित्सकहरूले बिरामीका लागि प्रेस्क्राइभ गर्ने गरेका छन् । यो झोल, क्याप्सुल र ट्याब्लेट सबै आकारमा प्राप्त हुन्छ । लामो समय एन्टिबायोटिक खाने र औषधि खाँदा शरीर कमजोर नहोस् भनेर विदेशमा बिरामीले चिकित्सकहरूको निगरानीमा खाद्यपूरक सामग्री खाने गर्छन् । औषधि विभागमा दर्ता पनि नहुने र औषधि पनि नभएकाले फार्मेसीले खाद्यपूरक सामग्री बिक्री गर्न पाउँदैनन् । तर, अनुमगन नहुँदा प्रायः सबै औषधि पसलले खुलेआम खाद्यपूरक सामग्री बिक्री गर्दै आएका छन् ।