शंकास्पद राहदानीवाहक, शरणार्थी, इन्टरपोलको कालोसूचीमा रहेका, शंकास्पद भ्रमण भएका १२० विदेशीलाई त्रिभुवन विमानस्थलबाटै फर्काइयो ।
एक वर्षमा नेपालबाट ४९७ जना विदेशी निष्कासित हुँदा एक हजार ५०६ जना नेपाली विदेशबाट निष्कासनमा परेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२४ मा नेपालबाट निष्कासित हुनेभन्दा विदेशमा नेपाली निष्कासनमा पर्ने संख्या तीन गुणा धेरै छ ।
नेपालबाट निष्कासित हुने धेरैजसो ओभर स्टेसम्बन्धी कसुरमा संलग्न छन् । ४५१ ओभर स्टे तथा ४६ जना अन्य अपराधमा संलग्न विदेशीलाई जरिवाना तिराएर उनीहरूलाई फर्काइएको विभागले जनाएको छ ।
नेपालमा अवैध बस्नेमा सबैभन्दा धेरै चिनियाँ, अमेरिकी, बंगलादेशी र पाकिस्तानी नागरिक छन् । एक वर्षमा १४७ चिनियाँ, अमेरिकी र बंगलादेशी ५४–५४, पाकिस्तानी ३५ र बेलायती २७ छन् । निष्कासनमा पर्ने अमेरिकी र बेलायतीमा धेरैजसो नेपाली मूलकै नागरिक छन् । अध्यागमन कानुनबारे जानकारी नहुँदा उनीहरू यस्तो कारबाहीमा पर्ने गरेका छन् ।
अध्यागमन नियमावलीअनुसार नेपालमा एक वर्षमा पर्यटन भिसामा बढीमा पाँच महिना बस्न पाइन्छ । अमेरिकी नागरिक भने ६ महिना बस्न पाउँछन् । तर, त्यो अवधि पनि गुजारेर बस्नेलाई ओभर स्टेको कसुरमा अध्यागमनले जरिवाना गराई निश्चित अवधि नेपाल आउन नपाउने गरी निष्कासन गर्छ । यसरी ओभर स्टेमा बस्नेहरू धेरैजसो शंकास्पद गतिविधिमा हुने गर्दछन् । तर, अवैध रूपमा बसेका विदेशीमाथि निगरानी र अनुसन्धानको प्रणाली बलियो हुन नसक्दा नेपालमा विदेशीहरूको अवैध गतिविधि बढेको र त्यसबाट राष्ट्रिय सुरक्षामै चुनौती हुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।
विदेशीहरू ट्रयाकिङ गर्न सिस्टम बनाउँदै छौँ : गोविन्दप्रसाद रिजाल, महानिर्देशक, अध्यागमन विभाग
विभिन्न किसिमका अपराधमा संलग्न विदेशीलाई जरिवाना तिराएर निश्चित अवधि आउन नपाउने गरी निष्कासन गर्दै आएका छौँ । अध्यागमन विभागले विदेशीहरूको ट्र्याकिङका लागि सिस्टम बनाइरहेको छ, अब अवैध बस्नेमाथि निगरानी बढाउँछौँ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल अब विदेशी नागरिकको ट्र्याकिङ प्रणाली बनाउन लागिएको बताउँछन् । ‘केही विदेशीहरू अवैध रूपमा बस्ने गरेकाले उनीहरूलाई जरिवाना गराई निष्कासन गर्दै आएका छौँ,’ उनले भने, ‘अब विभागले विदेशीहरूको ट्र्याकिङका लागि सिस्टम बनाइरहेको छ, छिट्टै निगरानी बढाउँछौँ ।’
पछिल्ला वर्ष पर्यटक भिसा र बिजनेस भिसाको दुरुपयोग गर्ने विदेशीमा चिनियाँहरू पहिलो स्थानमा छन् । सन् २०२४ मा निष्कासनमा परेकामध्ये १४१ जना ओभर स्टे तथा दुई सार्वजनिक सम्पत्तिविरुद्धको कसुरमा परेका थिए । त्यस्तै, जबर्जस्ती करणी कसुर, अभद्र व्यवहार, बालयौन दुरुपयोग र नेपाल राष्ट्र बैंक कसुरमा संलग्न एक–एकजना छन् । पर्यटक भिसामा आएर चिनियाँहरू सुन तस्करी, अनलाइन ठगीलगायत विभिन्न अवैध गतिविधिमा संलग्न रहँदै आएको प्रहरीका अनुसन्धानले समेत देखाउँदै आएका छन् ।
विभागका अधिकृत विवेक बिडारीका अनुसार सन् २०२४ मा ६४ देशका नागरिक निष्कासनमा परेका छन् । युगान्डाका १४, अस्ट्रेलियाका १२, श्रीलंकाका ११, फ्रान्सका आठ, क्यानडा र जर्मनीका सात, रसियाका ६, जर्मनी, उज्वेकिस्तान र क्यामरुनका पाँच–पाँच तथा दक्षिण कोरियाका चारजना निष्कासनमा परेका छन् । नेपालले १२ बाहेक सबै देशका नागरिकलाई अनअराइभल भिसा दिने भएकाले पनि नेपालमा अवैध गतिविधिमा संलग्न विदेशीहरू आउने गरेको प्रहरी अधिकारी बताउँछन् । पर्यटकलाई मात्र लक्षित गरेर नेपालमा अध्यागमन नीति बनाउँदा सुरक्षामा जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ ।
नेपालीहरू भने मध्यपूर्वी देश मलेसिया, अमेरिका, कोरिया तथा जापानबाट धेरे निष्कासनमा परेका छन् । अमेरिकी सरकारले अवैध रूपमा बस्नेलाई विशेष विमानमै नेपालसम्म ल्याएर छाड्ने गरेको छ ।
पाँच वर्षमा दुई हजारभन्दा बढी विदेशी निष्कासित
पछिल्लो पाँच वर्षमा नेपालबाट दुई हजारभन्दा धेरै विदेशी निष्कासनमा परेका छन् । सन् २०२० मा ३३२, सन् २०२१ मा २१८, २०२२ मा ५७०, २०२३ मा ४५८ जना निष्कासनमा परेका थिए । यसरी पाँच वर्षमा दुई हजार ७५ जना विदेशी निष्कासनमा परेका छन् ।
१२० जनालाई विमानस्थलबाटै फकाइयो
सन् २०२४ मा अध्यागमन कार्यालयले १२० जना विदेशीलाई अध्यागमन कार्यालयबाटै फर्काएको (इन्ट्री रिफ्युज) छ । विभागका अनुसार शंकास्पद राहदानीवाहक, शरणार्थी, इन्टरपोलको कालोसूचीमा रहेका, शंकास्पद भ्रमण भएका व्यक्तिहरूलाई विमानस्थलबाट फर्काइएको छ । केही देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँदैनन् । तर, उनीहरू भिसाविना नै आएकाले पनि अध्यागमनले फर्काएको छ ।
इन्ट्री रिफ्युजमा पर्नेमा भारत, इरान, भुटान, चीन, मलेसिया, बंगलादेश र अफगानिस्तानका धेरै छन् । यसरी फर्काइएकामा पाँच अमेरिकी नागरिकसमेत छन् ।
आठ हजार पाँच सय नेपाली विमानस्थलबाटै फकाईए
विदेश जान विमानस्थल पुगेका आठ हजार ५९९ नागरिकलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको छ । यो सन् २०२४ मा अध्यागमनले फर्काएको विवरण हो ।
शंकास्पद भ्रमण भन्दै अध्यागमनले ‘अफलोड’ गर्दै आएको छ । घुम्न जाने भन्दै रोजगारीका लागि जान खोज्नेलाई फर्काइएको अध्यागमनका अधिकारीको भनाइ छ । कतिपय कालोसूचीमा रहेकालाई पनि अध्यागमनले फर्काउने गरेको छ ।
मुख्यगरी भिजिट भिसामा विदेशी जान खोज्नेलाई अध्यागमन अधिकृतहरूले फर्काउने गरेका छन् । अध्यागमनको यस्तो प्रवृत्तिले भ्रमण गर्ने नागरिक अधिकारकै हनन भएको भनेरसमेत आलोचना हुँदै आएको छ । अध्यागमन अधिकारीले भने विदेशमा पुगेर समस्यामा नपरून् भनेर फर्काइने गरिएको बताएका छन् । तर, सेटिङमा भने भिजिट भिसामा धेरैलाई पठाउने गरेको आरोप अध्यागमनमाथि लाग्दै आएको छ ।
विभिन्न किसिमका अपराधमा संलग्न विदेशीलाई जरिवाना तिराएर निश्चित अवधि आउन नपाउने गरी निष्कासन गर्दै आएका छौँ । अध्यागमन विभागले विदेशीहरूको ट्र्याकिङका लागि सिस्टम बनाइरहेको छ, अब अवैध बस्नेमाथि निगरानी बढाउँछौँ ।