छिमेकी हत्या आराेपमा अछामी जेल चलान

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

गुल्मीको इस्मा गाउँपालिका– ४, दोहली हुलकी ५० वर्षीया मीना दर्लामीको हत्या गरेकाे आराेपमा ४८ वर्षीय मीनबहादुर अछामी जेल चलान भएका छन्। उनले ३० मंसिरमा छिमेकी दर्लामीलाई साँध-सिमानाको रिसइबी साधेर हत्या गरेका थिए।

हत्यापछि फरार अछामीलाई प्रहरीले रिडीबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो। जिल्ला न्यायाधीश युवराज गौतमले अछामीलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए। उनलाई जन्मकैदको माग दाबी सरकारी वकिल कार्यालयले गरेको सूचना अधिकारी पन्थीले बताए।

अछामी पक्राउ परेपछि आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए। उनले प्रहरीको प्रारम्भिक बयानमै घरायसी साँध–सिमानाको कारण विवाद उत्कर्षमा पुगेर मादक पदार्थ सेवनको सुरुमा दलार्मीको हत्या गरेको स्वीकार गरेका थिए। ३० मंसिर राति मीना दर्लामी घरमै मृत फेला परेकी थिइन्। 

प्रहरीका अनुसार मृतकको शरीरभरि खुकुरी प्रहार गरेका चोटैचोट थिए। छिमेकी अछामी र दर्लामी परिवारको घरायसी विवाद नयाँ होइन। धेरै पहिलेबाट साँध–सिमाना र पानीका बारेमा झगडा हुने र पटक-पटक मार्ने धम्की आइरहेको मृतकका छोरा कमल दर्लामीले बताए। उनले आफूले आमा–बुबालाई घर छोड्न आग्रह गरिरहेको भए पनि अन्त्यमा अपराध भएरै छोडेको बताए।

सुझावित समाचार