पुष्पसदन बुद्धिचालमा भारतीय विद्यार्थीको अग्रता

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

पुष्पसदन सेकेन्डरी बोर्डिङको आयोजनामा जारी अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्। 
नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित प्रतियोगितामा यू–११, यू–१३ र यू–१५ उमेर समूहका विद्यार्थीबिच चलिरहेको प्रतिस्पर्धामा भारतीय विद्यार्थीको अग्रता रहेको छ।  

काठमाडौंको कीर्तिपुरस्थित पुष्पसदन विद्यालय प्रांगणमा छात्रातर्फ यू १५ समूहअन्तर्गत सिक्किम चेस एसोसियसन, भारतबाट प्रतिस्पर्धा गरिरहेका आभानिस प्रधानले उत्कृष्ट खेल प्रदर्शन गरी शतप्रतिशत जित दर्ता गर्न सफल भएका छन्। 

आभानिसले ५ अंक जोड्ने क्रममा क्रमशः आयन्स पौडेल, रेन्बो एकेडेमीका आर्यन पुन, गुरुकुलका स्पर्श साराबगी, बज्र एकेडेमीका विभष जोशी र त्रियोग हाई स्कुलका सइस घिमिरेलाई पराजित गरेका छन्।
 
छात्रातर्फको यू १५ प्रतिस्पर्धामा भारतका डेसियल ओंमु भुटियाले ४.५ अंक जोडेर एकल अग्रता कायम गरेकी छिन्। उनले चौथो चरणको एक मात्र खेल हिमालयन चेस एकेडेमीका प्रज्ञा पन्तसँग बराबरी गरेकी थिइन् भने बाँकी चारजना प्रतिस्पर्धीलाई हराउन सफल भएकी छिन्। 

यसै समूहमा आयोजक पुष्पसदनका सिवानी रिजाल र सबनम रिजालले समान ४ अंक बनाउँदै संयुक्त दोस्रो स्थानमा उभिन सफल भएका छन्। 

प्रतियोगितामा १३ वर्ष उमेर समूहको छात्रतर्फ पाठशाला सेकेन्डरीका ओस्कार पन्थीले ५ अंक जोडेर एकल अग्रता कायम गरेका छन्। 

पेभेलियन चेस एकेडेमीका उत्पादक ओस्कार पन्थीले क्रमशः हिल टाउन स्कुलका ओरने महर्जन, हिमालयनका आयन जोशी, जेनिश गुरुङ र ज्ञानोदय बालवाटिकाका प्रविर केसीमाथि जित दर्ता गरेका छन्। दोस्रो स्थान ओगटेका भारतीय निरभ ढकालले ४.५ अंक बनाएर छैटौँ चरणको खेल पन्थीसँग भेट पक्का गरेका छन्। 

यसै समूहको छात्रातर्फ बिएन एकेडेमीका बिबिसा तामाङले पूर्ण ५ अंक बनाएर अग्रता कायम गर्न सफल भएकी छिन्। उनलाई भारतका मानस्वी आचार्य र मार्भेलस इंग्लिस स्कुलकी कृति रिजालले समान ४ अंक बनाउँदै पछ्याइ रहेकी छिन्। 

यसैगरी, यू ११ छात्रतर्फ सूर्योदय सेकेन्डरी स्कुलका अग्रिम सैँजुले सबै खेल आफ्नो पक्षमा पार्दै समूहमा अग्रता बनाउन सफल भएका छन्। 

पेभेलियन चेस एकेडेमीका उत्पादक अग्रिम सैँजुलाई पछ्याउने क्रममा ग्रिनल्यान्ड स्कुलका सुलभ पन्थी र गोल्डेन पिक स्कुलका आयुष शर्माले समान ४.५ अंक जोडेर दोस्रो स्थानमा उभिएका छन्। 

यता, यू ११ छात्रा समूहमा मार्भलस इंग्लिस स्कुलका निहाना श्रेष्ठले सबै खेल जितेर ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल भएकी छिन्। हिमालयन चेस एकेडेमीकी निहानाले क्रमशः रुबेर्सी चौलागाईं, नयुमा मगर, प्रशंसा चौधरी, ओजस्वी श्रेष्ठ र भारतका पालक अग्रवालमाथि जित प्राप्त गरेकी छिन्। 

यसै समूहमा अन्नपूर्ण स्कूलका ओजस्वी श्रेष्ठ, मार्भलसका सुहानी सिंह र सिक्किमका पालक अग्रवाल समान ४ अंकमा रहँदै संयुक्त दोस्रो स्थानमा छन्। 

सुझावित समाचार