म्याग्दी सदरमुकाम बेनीमा आठौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला सुरु भएको छ। आइतबार पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलाको उद्घाटन गरेका हुन्।
म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा ८ माघसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादन र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ। महोत्सव उद्घाटनका क्रममा सभापति देउवाले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले उद्यमशीलतामा प्रोत्साहन गर्नुपर्ने बताए। उनले लगानीमैत्री वातावरण बनाउन सके स्वदेशी र स्थानीय लगानकीकर्ताले लगानी बढाउने र स्वदेशमै रोजगारीको अवसर सिर्जन हुन सक्ने धारणा राखे।
सो अवसरमा बेनीमा विभिन्न जातजाति र समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी प्रदर्शन गरिएको थियो। महोत्सव स्थलमा जिल्लामा उत्पादन भएका वस्तु तथा सामग्रीलाई बिक्री-वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनीमा राख्न निःशुल्क स्टलको व्यवस्था गरिएको छ।
महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिएको छ। महोत्सवले जिल्लाको व्यापार व्यवसाय र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए।
१० करोडभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ खर्च भएर पाँच लाख १० हजार ८६ बचत गर्ने लक्ष्य लिएको संघका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।
चर्चित राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगिता, खुला पुर्ख्याैली नाच, भजन, लोकनृत्य, रत्यौलीलगायतका प्रतियोगितालाई समावेश गरिएको संघका प्रथम उपाध्यक्ष लीलाराम गौतमले बताए।
यसैगरी, गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता, खुला महिला भलिबल प्रतियोगितामा, गण्डकी प्रदेशभित्रका वडास्तरीय बास्केटबल प्रतियोगिता, साबिक धौलागिरी अञ्चलस्तरीय बी लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, छेलो फाल्नेलगायतका खेलकुद प्रतियोगितासमेत सञ्चालन हुने आयोजकले जनाएको छ।