पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन

शुक्रबार, २६ पुष, २०८१
डिजिटल संस्करण

तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ। श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो।

सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्ने गरी ०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार ०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मंसिर २९ गते सकिएको छ।

१५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुसार भवन निर्माणको काम सुरु गरिएको थियो। निर्माणाधीन अस्पताल भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि झ्यालढोका थुनथान, रङरोगन तथा पार्टेसन (विभाजन)को काम बाँकी नै छ।

अस्पताल भवन निर्माणको काममा ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित भइरहेको जिल्ला अस्पतालका डा. पुष्कल राईले बताए।
‘अस्पतालमा दैनिक सयौँको संख्यामा बिरामी आउँछन्। कतिपयलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामी हुन्छन्,’ उनले भने, ‘अस्पताल भवन अभावमा साँघुरो टहरामा राखेर उपचार गर्नुपर्ने बाध्यता छ। यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ।’

अस्पतालमा बिरामी भर्ना कक्ष, डेलीभरी कक्ष (सुत्केरी गराउने ठाउँ, शल्यक्रिया कक्ष, आकस्मिककक्षलगायत सेवा टहरामार्फत उपलब्ध गराउने गरिएको छ। पर्याप्त शय्या अभावमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटेल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन्।

अस्पताल भवन निर्माणको काममा ठेकेदारको लापरबाहीका कारण ढिलासुस्ती भएपछि जिल्ला समन्वय समितिको संयोजनमा गत साउन २७ गते बोलाइएको सर्वपक्षीय बैठकमा निर्माण कम्पनीका सञ्चालक रामबहादुर कटवाललाई कार्यतालिकासहित कागज गराइएको थियो।

मंसिर २९ गतेभित्र सबै काम सक्ने गरी सार्वजनिक रूपमा गरिएको ‘वर्क सेड्युल’ कागजमै सीमित भएको छ। वि.सं. ०४९ वैशाख १ गते स्थापना १५ शय्याको अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमार्फत भ्याटसहित रु. २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा ५० शय्यामा स्तरोन्नति गर्ने गरी अस्पताल भवनको ठेक्का लगाइएको थियो।

गरेको कामको नियमित भुक्तानी नपाउँदा अस्पतालको भवन निर्माणको कामलाई वेलामा सम्पन्न गर्न नसकिएको निर्माणस्थलमा खटिएका ठेकेदार कम्पनीका साइड इन्जिनियर हरिशंकर बाँस्ताेलाले बताए।

पहिलो तलामा ओपिडी कक्ष, इमर्जेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रूमलगायतका संरचना निर्माण गर्ने योजना रहेको अस्पताल भवन ४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको हुने सम्झौतामा उल्लेख छ।

चारतले आरसिसी पक्की भवन दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसियू कक्ष, आइसोलेसन कक्ष, क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना निर्माण गरिने प्राविधिक स्टिमेटमा उल्लेछ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माणको काम सम्पन्न नभएपछि सामान्य किसिमका बिरामीलाई समेत बाहिरी जिल्ला लानुपर्ने बाध्यता रहेको जिल्लावासीले बताएका छन्। अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार तथा भवन अभाव भएकै कारण अधिकांश बिरामीलाई बाहिर सुविधासम्पन्न अस्पताल ‘रेफर’ गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताएका छन्।

स्थापना भएर सञ्चालनमा आएको लामो समयसम्म स्तरोन्नति नभएको जिल्ला अस्पतालमा विभिन्न क्षेत्रबाट प्राप्त औजारको भरमा सेवा उपलब्ध गराउने गरिएको अस्पताल सञ्चालक समितिले जनाएको छ।

विशेषगरी खोटाङमा जन्मिएर विभिन्न पेसा तथा व्यवसाय गर्दै आएका हङकङ तथा बेलायतमा रहेका खोटाङेहरूले अस्पतालका लागि आवश्यक औजार उपलब्ध गराउँदै आएका छन्।

सुझावित समाचार