निरू र पूजा चम्किँदा पुलिसको दोस्रो जित

बुधबार, २४ पुष, २०८१
डिजिटल संस्करण

कप्तान निरू थापा र रक्षक पूजा रानाले समान एक गोल गरेपछि पुलिसले कमजोर मानिएको बागमती युवा क्लबविरुद्ध २–० को जित निकाल्यो

विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा दोस्रो जित निकालेको छ । मंगलबार एन्फा कम्प्लेक्समा भएको आफ्नो तेस्रो खेलमा पुलिसले पहिलोपटक महिला लिग खेलेको बागमती प्रदेशमाथि २–० को जित निकाल्यो । पुलिसको जितमा कप्तान तथा स्ट्राइकर निरू थापा र रक्षक पूजा रानाले समान एक गोल गरे । 

पहिलो चरणमा पनि पुलिसले बामगतीविरुद्ध १–० को जित निकालेको थियो । १३ भदौमा भएको खेलमा निर्मला उपाध्यायले खेलको ६५औँ मिनेटमा विजयी गोल गरेकी थिइन् । यही खेलमा प्लेयर अफ दी म्याच भएकी मनीषा रावत दोस्रो चरणमा भने उपलब्ध भइनन् । अघिल्लो खेलमा अर्काे विभागीय टोली आर्मीविरुद्ध गोलरहित बराबरी खेल्दा मनीषा घाइते भएकी थिइन् । तेस्रो खेलमा प्रशिक्षक भोलानाथ सिल्वालले उनलाई विश्राम दिएका हुन् । 

जितसँगै पुलिस सात अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बामगती भने जितविहीन छ । पुलिसले पहिलो खेलमा वालिङ नगरपालिकालाई ५–० ले हराएको थियो । बामगती भने पहिलो खेलमा आर्मीसँग २–० र दोस्रो खेलमा एपिएफविरुद्ध ५–१ ले पराजित भएको थियो । यो हारपछि टोलीको प्लेअफ सम्भावना कमजोर बनेको छ । तर, वालिङलाई हराए टोली शीर्ष चारमा रहन सक्नेछ । डबल राउन्ड रोविन पद्धतिमा हुने सुपर लिगको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछ । 

दुवै हाफमा समान एक गोल 
पुलिसले कमजोर मानिएको बामगतीविरुद्ध दुवै हाफमा समान एक गोल गरेको थियो । राष्ट्रिय टोलीबाट खेलिरहेका उषानाथ, पूजा र समीक्षालाई मैदानमा उतारेको पुलिस फिनिसिङमा भने चुक्यो । राष्ट्रिय टिमकै पूर्वकप्तान निरूले खेलको नवौँ मिनेटमा अग्रता दिलाएकी हुन् । बिर्सना चौधरीले दिएको भलिबलमा निरूले सानदार गोल गरेकी हुन् । निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा पूजाले अग्रतालाई दोब्बर बनाउँदै सहज जित दिलाएकी हुन् । पूजाको यो दोस्रो गोल हो । यसअघि वालिङविरुद्ध पनि एक गोल गरेकी थिइन् । पुलिसका लागि दोस्रो चरणमा पूजासहित अनुस्का शेर्पा र सम्झना लावतीले समान दुई गोल गरेका हुन् । निरूको नाममा पहिलो गोल हो । 

सुझावित समाचार