येशु ख्रिस्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदै

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदै छन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रिस्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिस्टियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए।

उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले बताए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने ०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउने थालेको हो ।

दिवसका अवसरमा ०६३ देखि ०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा ०७५ देखि ०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । ०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।

हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेका छन् ।

महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव ०८१ आयोजना गरिएको  छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराज बताए ।

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रिस्ट जन्मोत्सवका रूपमा क्रिसमस मनाउने तयारी भएको छ ।     

 

सुझावित समाचार