२७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ। आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्विनअटर विमानमा चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको हो।
यसअघि २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व सुरु भएसँगै २०५३ साल माघदेखि बन्द अवस्थामा रहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य संघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईंलगायतले स्वागत गरेका थिए।
त्यसअवसरमा राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौं–टीकापुर सीधा हवाई उडान सञ्चालन गरिने बताए।
टीकापुर नगरपालिकाको विशेष पहलमा काठमाडौंदेखि नेपालगन्जसम्म यति एयरलाइन्समार्फत र नेपालगन्जबाट ‘कनेक्टिङ फ्लाइट’मार्फत टीकापुर विमानस्थलसम्म तारा एयरले उडान गर्ने गरी व्यवस्थापन गरिएको टीकापुरका नगरप्रमुख डगौरा थारूले जानकारी दिए।
विमानस्थलमा प्रत्येक साता आइतबार र बिहीबार काठमाडौं–नेपालगन्ज–टीकापुर र टीकापुर–नेपालगन्ज–काठमाडौं उडान हुनेछ। टीकापुर नगरपालिका र तारा एयरबिच प्रत्येक उडानमा न्यूनतम १५ सिटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको नगरप्रमुख डगौरा थारूले जानकारी दिए।
विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगन्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ। टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौँबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगन्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ। सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगन्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउने तालिका छ।
त्यसैगरी, काठमाडौंदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबिच सहमति भइसकेको छ। यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ। साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सोबराबरको रकम उपलब्ध गराउनेछ। रासस