अमेरिकादेखि अस्ट्रेलियासम्म हुन्छ निर्यात, स्वदेशमा छैन चासो
दाङ, घोराहीका महिला धागोका सामग्री बुनेर आम्दानी गर्न थालेका छन् । उनीहरू बिहान छोराछोरीलाई खाना खुवाइवरि विद्यालय पुर्याएर खाली भएको समय सदुपयोग गर्दै धागोबाट सामग्री बुन्न थालेका हुन् ।
उनीहरूले बुनेका सामग्री नेपालमा मात्र होइन, विदेशमा पनि माग हुँदै आइरहेको छ । सोप्न होजेरी उद्योगबाट तालिम लिएर बुनिएका धागोका सामग्री उनीहरूको राम्रो आम्दानीको स्रोत बनेको छ ।
अहिले सामूहिक रूपमा १५ जना महिलाले सोप्न होजेरी उद्योगमा सामग्री बनाएर विदेशसम्म निर्यात गर्ने गरेका छन् । उनीहरूले बनाएका सामग्रीको माग अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारतलगायतमा हुँदै आएको छ । उद्योग सञ्चालक रचना सुवेदीका अनुसार अस्ट्रेलियामा ‘डल’को माग बढी छ भने भारतमा धागोबाट बनेका गणेश र लक्ष्मीको माग उच्च छ । त्यस्तै, क्यानडामा स्विटर, मोजा र बालबालिकाका सामग्रीको माग बढी छ भने अमेरिकामा उत्पादित सबै सामग्रीको माग हुने गरेको सञ्चालक सुवेदी बताउँछिन् ।
ठुलो डल, स्टेबरी, बिरालो, हेडवेन, गरेटा, कृष्ण, माछा, लभ, भौरी, कुकुर, फर्सी, सानो डल, सूर्यमुखी, कछुवा, भिफी, पाका, स्विटर, जलपरीलगायतका सामग्री बनाउने गरिएको छ । यसबाट मासिक १० देखि १५ हजार आम्दानी हुने गरेको सुवेदीको भनाइ छ । ‘एउटै सामान बनाउन दुई–तीन दिन लाग्छ,’ सुवेदी भन्छिन्, ‘दुःख धेरै भए पनि आम्दानी खासै छैन, तर यो कामले सन्तुष्टि दिन्छ ।’ धागोबाट बनेका सामग्रीहरू टिकाउ पनि हुने भएकाले धेरै माग हुने गरेको उनले बताइन् ।
विदेशमा यसरी माग भए पनि स्वदेशमा भने यसको माग खासै नभएको उनले गुनासो गरिन् । ‘विदेशबाट आएक महँगा सामग्री मायाको चिनोका रूपमा दिने गरिन्छ,’ उनले भनिन्, ‘तर, स्वदेशमा बनेका यस्ता सामग्रीलाई मायाको चिनोका रूपमा दिनुस् भन्दा कसैले पनि चासो देखाउने गर्नुभएको छैन ।’
०६३ सालमा घोराहीमा उक्त होजेरी उद्योग सञ्चालनमा आएको हो । त्यसपछि उक्त उद्योगले यसरी होजेरीसम्बन्धी तालिम दिँदै आएको छ । सोही तालिमबाट धेरैले रोजगारी प्राप्त गर्न सफल भएका छन् । तालिमपछि घोराही उपमहानगरपालिका वडा नं १३ की मीना जिसीले छोराछोरीलाई खाजा–नास्ता यही कामले पुर्याउने गरेकी छिन् । त्यस्तै, सोही ठाउँकी चम्फा चौधरी आफैँ अहिले सोही उद्योगबाट ठाउँ–ठाउँमा प्रशिक्षण भएर जाने गरेकी छिन् ।