सदभावले अन्तिम दिन साबिक विजेता नीरज तामाङलाई दुई स्ट्रोकले पछि पारे
साबिक विजेता प्रो नीरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् । प्रतियोगिताको शुक्रबार सदभावले अन्तिम दिन ६ अन्डर ६२ को सानदार स्कोर गर्दै उपाधि हात पारेका हुन् । उनले समग्रमा १५ अन्डर २५७ को कार्ड लेखाउँदै करिअरको चौथो उपाधि जिते । उनले काठमाडौं ओपनमा भुवन नगरकोटीले बनाएको १४ अन्डर २५८ को रकर्ड तोडेका छन् ।
उपाधि रक्षा गर्ने दाउमा रहेका नीरज ३ अन्डर ६५ सहित समग्रमा १३ अन्डर २५९ को स्कोरका साथ दोस्रो भए । उनले प्रोफेसनतर्फ पहिलो स्थान पाउँदा एक लाख २५ हजार रुपैयाँ जिते । दिनेश प्रजापतिले ८ अन्डर २६४ सहित तेस्रो हँुदै ८५ हजार रुपैयाँ जितेका छन् । एमेच्योर राहुल विके समग्रमा ६ अन्डर २६६ स्कोरसँगै चौथो भए । उनले अन्तिम दिन ४ अन्डर ६४ स्कोर गरेका थिए । समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ उपविजेता बनेका छन् । नेपाल नम्बर एक प्रो भुवनले समग्रमा ४ अन्डर २६८ सहित पाँचौँ हुँदै ६८ हजार रुपैयाँ हात पारे ।
निर्णायक ११औँ होल
अन्तिम दिनको खेल सुरु हुँदा सदभाव नीरजभन्दा एक स्ट्रोकले पछि थिए । फ्रन्ट नाइनको खेल सकिँदा पनि नीरजसँग एक स्ट्रोकको अग्रता नै थियो । दुवैले फ्रन्ट नाइन ४ अन्डर ३० स्कोर गरे । सदभावले पहिलो, चौथो, पाँचौँ र छैटौँ होलमा बर्डी प्रहार गरे । नीरजले पनि पहिलो, दोस्रो, चौथो र सातौँ होलमा चार बर्डी नै प्रहार गरे । खेलमा ११औँ होल टर्निङ प्वाइन्ट बन्यो । सदभावले बर्डी प्रहार गरे । त्यही होलमा नीरजले बोगी खेले । यसपछि सदभावले एक स्ट्रोकको अग्रता बनाए । सदभावले यसपछि १३औँ होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता राखे । यही अग्रतालाई निरन्तरता दिँदै उनले ब्याक नाइन २ अन्डर ३२ मा सकाउँदै उपाधि जिते । नीरज भने ब्याक नाइन १ ओभर ३५ मा रोकिए ।
दिनेशले फ्रन्ट नाइन २ अन्डर ३४ मा खेले । उनले पहिलो, चौथो, पाँचौँ र आठौँ होलमा एक–एक सट बचाए । तर, सातौँ होलमा डबल बोगी खेपे । यसपछि १४औँ होलको बोगीविरुद्ध उनले १०औँ र १३औँ होल बर्डी प्रहार गर्दै ब्याक नाइन १ अन्डर ३३ स्कोरमा खेल सकाए । विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी र पिजिए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कृत गरेका छन् ।