वडा कार्यालयले सेवाग्राहीलाई तातोपानीले नुहाउनेसम्मको सुविधा दिन्छ भन्ने सुन्दा अचम्म लाग्ला । अझ वडा कार्यालयबाट हैरानी खेपेकाहरूले त झन् पत्याउने कुरै भएन ।
तर, ललितपुर महानगरपालिका वडा नम्बर ३ कार्यालयले सेवाग्राही तथा वडावासीलाई तातोपानीले नुहाउनेसम्मको सुविधा दिँदै आएको छ । पुल्चोकस्थित वडा कार्यालयले ठाडोढुंगा धोबीघाटमा वडावासीका लागि नुहाउन मिल्ने गरी तातोपानीसहितको युनिक सोलार सावर स्टेसन अर्थात् नुहाउने घर निर्माण गरेको छ ।
९ कात्तिकदेखि सञ्चालनमा आएको उक्त सावर स्टेसनमा एकैपटक तीनजना पुरुष र तीनजना महिलाले नुहाउन मिल्छ । वडा कार्यालयको यो सुविधा प्रयोग गर्न अचेल दैनिक २० जनासम्म आउने गरेका छन् । कहिलेकाहीँ यो संख्या अझै बढी हुन्छ । चिसोको सिजन भएकाले घरमा तातोपानीको सुविधा नभएकाहरू यहाँ नुहाउन आउने गरेको कार्यालयले जनाएको छ ।
श्रीगोपाल महर्जन, वडाध्यक्ष, ललितपुर महानगरपालिका–३
यो अलि फरक किसिमको योजना थियो, यसमा चिनियाँ कम्पनीले आफैँ निर्माण गरिदिने प्रस्ताव गर्यो, सोहीअनुसार नुहाउने घर निर्माण भयो । कहिलेकाहीँ समूह बनाएरै पनि नुहाउन आउँछन्, घरमा तातोपानीको सुविधा नहुनेहरूलाई यसले राहत मिलेको छ ।
वडाध्यक्ष श्रीगोपाल महर्जनका अनुसार सोलार सावर स्टेसनमा नुहाउँदा आफूले प्रयोग गरेको पानीको आधारमा शुल्क तिर्नुपर्छ । ५० लिटरसम्म पानी खर्च भए ८० रुपैयाँ र त्यसले नपुगे थप पैसा तिर्नुपर्नेछ ।
वडा कार्यालयले ०८१/०८२ को नीति तथा कार्यक्रममा तातोपानीले नुहाउने सुविधासहितको घर निर्माण गर्ने योजना ल्याएको थियो । उक्त योजनामा चिनियाँ कम्पनी हिनानले संरचना निर्माण गरिदिने प्रस्ताव गरेपछि वडा कार्यालयले हिनानलाई नै जिम्मा दिएको थियो । करिब ५० लाखमा बनेको युनिक सोलार स्टेसनमा ट्युब सोलार जडान गरिएको छ । जसले पानी तताउँछ ।
‘यो अलि फरक किसिमको योजना थियो, यसमा चिनियाँ कम्पनीले आफैँ निर्माण गरिदिने प्रस्ताव गर्यो, सोहीअनुसार नुहाउने घर निर्माण भयो,’ वडाध्यक्ष महर्जनले भने, ‘कहिलेकाहीँ समूह बनाएरै पनि नुहाउन आउँछन्, घरमा तातोपानीको सुविधा नहुनेहरूलाई यसले राहत मिलेको छ ।’ यहाँ इनारबाट तानेको पानी फिल्टर गरेर ट्यांकीमा भरिन्छ । त्यसपछि सोलारमार्फत तातो पारिन्छ ।
विपन्नका लागि मासिक एक बोरा चामल र पाँच किलो दाल
वडा नम्बर ३ ले तातोपानीले नुहाउने व्यवस्था मात्रै होइन, विपन्नका लागि मासिक एक बोरा चामल र पाँच किलो दाल पनि प्रदान गरिरहेको छ । वडाले हरेक महिना ५० परिवारलाई यसरी राहत प्रदान गरिरहेको छ ।
साथै, हाइड्रोपोनिक कौसी खेतीका लागि पाँच हजार सहयोग, योगसम्बन्धी व्यावसायिक तालिम र घरायसी सामान मर्मत, क्लिनिक र प्रयोगशालाको व्यवस्था, हाइड्रोजन ग्यासबाट बत्ती उत्पादन, कुहिने फोहोरलाई मल बनाउन कम्पोस्ट बिन वितरण, प्लास्टिक झोला न्यूनीकरणका लागि एक घर, एक कपडाको झोला वितरणसमेत गर्दै आएको छ ।
नौला र फरक काम गर्न सधैँ अगाडि वडा नम्बर ३
वडा नम्बर ३ ले गरेका काम सुन्दा धेरैलाई रोचक लाग्छ । यस वडा कार्यालयले ‘एक बच्चा एक उपहार’ अभियानअनुसार सुत्केरीलाई उपहार पनि दिन्छ । गर्भवती र सुत्केरीलाई पौष्टिक खाद्यान्नका लागि प्रतिव्यक्ति दुई हजार दिने गरेको छ । यस्तै वडाले अपांगमैत्री वडा भवन निर्माणका साथै सेवाग्राही लिन र छाड्न निःशुल्क विद्युतीय गाडीको व्यवस्था गरेको छ ।
वडाध्यक्ष महर्जनका अनुसार घरघरमा पुगेर स्वास्थ्य परीक्षण, ७० वर्ष उमेर पुगेका वृद्धवृद्धाका लागि घरघरमै सामाजिक सुरक्षालगायत सेवा सुविधा, अपांगता भएका व्यक्तिका लागि औषधि तथा सामान वितरण, सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति, सहुलियत दरमा कम्पोस्ट बिन वितरण गरिन्छ । यसबाहेक वडा कार्यालयले ज्येष्ठ नागरिक मिलन केन्द्र पनि सञ्चालन गरेको छ । वडाकै अग्रसरतामा रक्तसञ्चार सेवा केन्द्र, पुल्चोकबाट निःशुल्क रगत वितरण हुन्छ । युवा तथा उद्यमीहरूलाई उद्यमशील स्वरोजगार कार्यक्रम सञ्चालन, निःशुल्क कानुनी परामर्श सेवा, घरमै पुगेर पाठेघरको मुखको क्यान्सर परीक्षण, कुहिने र नकुहिने फोहोर संकलनका लागि बाल्टिन वितरण, एक घर एक कपडाको झोला अभियानलगायत कार्यक्रम सञ्चालन गरिरहेको छ ।
वडा नम्बर ३ मा जथाभावी ब्यानर, पोस्टर टाँस्नसमेत मनाही छ । सामुदायिक स्कुलका जेहेनदार विद्यार्थी एक पुरुष र एक महिलालाई २५ हजारका दरले छात्रवृत्ति दिँदै आएको छ । यस्तै, स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य कार्डबाट वर्षमा एकपटक निःशुल्क स्वास्थ्य जाँच र स्वास्थ्य कार्ड वितरणको व्यवस्था गरेको छ । ‘हामीले पुरानो कागजबाट ब्रिगेट बनाउने, रौँबाट फर्टिलाइजर तयार पार्ने, दीर्घरोगी (सुगर र प्रेसर) का लागि निःशुल्क औषधि र महिनामा एकपटक सुगर जाँच गर्नेलगायत सेवा दिइरहेका छौँ,’ वडाध्यक्ष महर्जनले भने, ‘आपूmले गरे अरूले सिक्छन्, अरूले सिके आपूmलाई गर्छन् भन्ने सोचमा नयाँ र सकारात्मक काम गरेका हौँ ।’
यो अलि फरक किसिमको योजना थियो, यसमा चिनियाँ कम्पनीले आफैँ निर्माण गरिदिने प्रस्ताव गर्यो, सोहीअनुसार नुहाउने घर निर्माण भयो । कहिलेकाहीँ समूह बनाएरै पनि नुहाउन आउँछन्, घरमा तातोपानीको सुविधा नहुनेहरूलाई यसले राहत मिलेको छ ।