सूर्य नेपाल काठमाडौं ओपन : विष्णुले बनाए एक स्ट्रोकको अग्रता

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन विष्णुप्रसाद शर्मा एक स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा उक्लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा बुधबार ७ अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले साबिक विजेता नीरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । नीरज समग्रमा ६ अन्डर १३० सहित दोस्रो स्थानमा छन् । एमेच्योर सदभाव आचार्यले समग्रमा ५ अन्डर १३१ सहित तेस्रो स्थान रक्षा गरेका छन् । 

दिनेश प्रजापतिले दिनकै उत्कृष्ट स्कोर कार्ड बनाएका छन् । समग्रमा ४ अन्डर १३२ स्कोरका साथ उनी चौथो स्थानमा उक्लिएका छन् । पहिलो दिनको शीर्ष जयराम श्रेष्ठ पाँचौँ स्थानमा झेका छन् । श्रेष्ठले समग्रमा २ अन्डर १३४ स्कोर गरे । एमेच्योर राहुल बिके र भेट्रान प्रो दीपक मगर समग्रमा १ अन्डर १३५ सहित संयुक्त रूपमा छैटौँ स्थानमा रहेका छन् । राहुलले ३ अन्डर ६५ र दीपकले १ अन्डर ६७ स्कोर गरे ।

समग्रमा १ ओभर १३७ सहित धनबहादुर थापा र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले संयुक्त रूपमा आठौँ स्थान बाँडेका छन् । धनले ४ अन्डर ६४ र भुवनले ३ अन्डर ६५ स्कोर गरे । रवि खड्का र प्रदीपकुमार लामा समग्रमा २ ओभर १३८ सहित संयुक्त रूपमा १०औँ स्थानमा छन् । 

फ्रन्ट नाइनमा बलियो विष्णु
शीर्ष स्थानमा उक्लने क्रममा विष्णुले सानदार प्रदर्शन गर्दै फ्रन्ट नाइनमा ५ अन्डर २९ को स्कोर बनाए । उनले पहिलो, दोस्रो र सातौँ होलमा बर्डी प्रहार गरे । उनले ब्याक नाइन १ ओभर ३५ मा सकाए । साबिक विजेता नीरजले पहिलो होलमा इगल प्रहार गर्दै दिनको सुरुवात गरे । दोस्रो र छैटौँ होलमा उनले समान एक सट खेर फाले । पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १ अन्डर ३३ मा पूरा गरे । यसपछि १०औँ होलमा उनले बोगीको सामना गरे । 

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले फ्रन्ट नाइन २ अन्डर ३२ र ब्याक नाइन १ अन्डर ३३ मा सकाए । उनले पहिलो, चौथो, पाँचौँ, आठौँ र सत्रौँ होलमा पाँच बर्डी प्रहार गरे । दोस्रो र सातौँ होलमा समान एक सट खेर फाले । सदभाव एमेच्योरतर्फ शीर्ष स्थानमा रहेका छन् ।‌ उनले राहुल बिकेलाई चार स्ट्रोकले पछि पारेका छन् । 

See More On

सुझावित समाचार