भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बनमा परेका नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि किर्ते मुद्दामा पनि अनुसन्धान हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)लाई पत्राचार गरेको छ।
सिलवालले जन्ममिति किर्ते गरेर प्राधिकरणको अध्यक्षका रूपमा १६ महिना धेरै काम गरेको अभियोगमा सोमबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सरकारी कागजपत्र नै किर्ते गरेको अनुसन्धानबाट पुष्टि भएपछि त्यसमा प्रहरीबाट छुट्टै अनुसन्धानका लागि पत्राचार भएको हो। प्रहरी स्रोतका अनुसार अख्तियारले पठाएको पत्र मंगलबार सिआइबीमा पुगिसकेको छ ।
सरकारी सेवामा प्रवेश गर्दाको जन्ममितिअनुसार सिलवालले प्राधिकरणबाट ६५ वर्षे सेवाहदका कारण १६ साउन २०८० मै अवकाश पाउनुपर्ने थियो। तर, जन्ममिति सच्याएर उनी पदमै बसेको भन्दै त्यसयता लिएको ३६ लाख ६२ हजार एक सय ५४ रुपैयाँ तलब तथा सेवा सुविधालाई बिगो कायम गरी मुद्दा दायर भएको छ।
सरकारका पूर्वसचिवसमेत रहेका सिलवालले निजामती किताबखानाको सिटरोलमा जन्ममिति १५ साउन २०१५ उल्लेख गरेका छन्। पछि पासपोर्ट बनाउँदा जन्ममिति २४ कात्तिक २०१८ उल्लेख गरी झुटा विवरण पेस गरेका थिए। सोही आधारमा उनीमाथि भ्रष्टाचारसँगै किर्ते मुद्दा पनि चल्ने भएको छ।
प्राधिकरणका अध्यक्षका रूपमा उनले दर्जन नीतिगत भ्रष्टाचार गरेको भन्दै त्यस विषयमा समेत अख्तियारमा उजुरी परेको छ।