१८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव पुस दोस्रो साता

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

१८औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१ सौराहामा पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय होटेल संघ नेपाल चिवतनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालको सहआयोजनामा ११ देखि १५ पुससम्म महोत्सव हुन लागेको हो। 

महोत्सवबारे जानकारी दिन मंगलबार पोखरामा आयोजकले पत्रकार सम्मेलन गरेको छ। सो क्रममा आउँदो अंग्रेजी नयाँ वर्षसँगै क्रिसमस डेको अवसरमा सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गर्ने उदेश्यसहित १७ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको आयोजक संघका उपाध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार रत्ननगर–७ स्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने महोत्सवको मुख्य आकर्षणहरूमा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा कार्यक्रम, हत्तीको शृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुंगा रेस प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एन्ड ट्राभल एजेन्सीहरूसँग बिटुबी, चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तर्क्रिया कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा दैनिक सांस्कृतिक कार्यक्रम, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धनलगायतका कार्यक्रम रहेका छन्।

पाण्डेका अनुसार महोत्सवमा सञ्चालन गरिने विभिन्न गतिविधिमा ८० वटा हात्ती प्रयोग गरिनेछ। कोरोनाका कारण ०७६ सालदेखि रोकिएको महोत्सव ०८० देखि निरन्तरता पाएको हो। 

रत्ननगर पर्यटन विकास समितिका संयोजक भेषराज तिवारीले हाल चितवनमा एकरातमा १८ देखि २० हजार पाहुना राख्न सक्ने तारेदेखि सामान्य होटेलहरू रहेको र केही होटेल निर्माणको क्रममा रहेका र केही सम्पन्नपछि सञ्चालनको अन्तिम तयारीमा रहेको जानकारी दिए। 

महोत्सव अवधिभर पर्यटकहरूलाई दिइने विभिन्न सेवामा २५ देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको महोत्सवका संयोजक रामकुमार अर्यालले जानकारी दिए।
 

सुझावित समाचार