राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । ०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो ।
आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे चार महिना बितायो । मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले नोभेम्बर अन्तिम साताबाट विस्तारको काम सुरु गरेको हो । नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ ।
‘पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ,’ उनले भने, ‘अहिले सबबेस, बेस, अप्रोज रोड (नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम), कल्भर्ट निर्माण, ढुंगाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ ।’ यस खण्डमा बनेका १६ पुलमा अप्रोज रोड बनाउनुपर्नेमा अहिले नौवटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम सुरु हुने उनले बताए ।
त्यसैगरी २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ स्थानमा सडक किनारमा ढुंगाको पर्खाल लगाउने काम भइरहेको इन्जिनियर खनालको भनाइ छ । गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताए । सडक विस्तारमा अहिले ११ वटा स्काभेटर, दुई क्रेन, ६ रोलर, आठ ग्रेडरको प्रयोग भइरहेको खनालले जानकारी दिए ।
‘अहिले सडक विस्तारको कामलाई तीव्रता दिने गरी काम भइरहेको छ,’ उनले भने, ‘निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण थप गर्दै सडक विस्तारको कामलाई चाँडो गर्ने प्रतिबद्धता जनाएर काम गरेको छ ।’ यस खण्ड (गैँडाकोट–दाउन्ने) मा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्र भइसकेको इन्जिनियर खनालले बताए ।
हालसम्म पूर्वीखण्डको भौतिक प्रगति ५३.१५ प्रतिशत रहेको भन्दै डिसेम्बरमा थप ३.१८ प्रतिशत काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको इन्जिनियर खनालको भनाइ छ । मध्यविन्दु नगरपालिकामा पर्ने चोरमारा जंगलको उकालोमा सडक विस्तारको काम भइरहँदा जमिनमुनिबाट पानी रसाएर यातायात सञ्चालनमा समस्या आएपछि अहिले ‘सब सर्फेस ड्रेन’ निर्माणको काम भइरहेको उनले बताए ।
सडकको बिचमा खाल्डो खनेर जमिनमुनिबाट निस्किएको पानीलाई निकास दिनका लागि सब सर्फेस ड्रेन बनाइएको र अब यस खण्डमा सहज रूपमा यातायात सञ्चालन गर्न तथा सडक विस्तार गर्न सकिने उनको भनाइ छ । नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटर सडक ०७९ साउन २२ भित्र काम सक्ने गरी ०७५ माघमा सरकार र चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडबिच सम्झौता भएको थियो ।
नारायणघाट–दाउन्ने (६५ किलोमिट) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा ठेक्का लगाइएको योजनाको तत्कालीन प्रधानमन्त्री केशी शर्मा ओलीले २०७५ चैत ८ मा बुटवलमा शिलान्यास गरेका थिए । निर्धारित समयमा एकचौथाइ पनि काम नसकेपछि पहिलोपटक ०८० साउन ८ र दोस्रोपटक ०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो ।