मुगुका चारवटै स्थानीय तहमा भेडा र बाख्रापालन गर्ने कृषकको संख्या बढ्न थालेको छ । आर्थिक अवस्थामा पनि सुधार आउन थालेपछि यहाँका कृषकले मुख्य पेसाका रूपमा भेडा तथा बाख्रापालन रोज्न थालेका हुन् । चिसो हावापानी, प्रशस्त चरन भूमि र पिउने पानीको सहज उपलब्धताले भेडापालनलाई थप सम्भावनायुक्त बनाएको छ ।
भेडा र बाख्राबाट मुख्यतः ऊन, बग्राल, मासु र मल उत्पादन उनीहरूले आम्दानी गर्दै आएका छन् । विशेष गरी भेडाको ऊनबाट बनेका राडीपाखी, लिउ, पाखो, मफ्लरलगायत उत्पादनले स्थानीय मात्र होइन, राष्ट्रिय बजारमा पनि राम्रो स्थान पाउँदै आएको छ । साथै, दसैँ–तिहारलगायत चाडपर्वमा खसी–बोका र भेडा–खाल्बाको माग अत्यधिक भएको स्थानीय कृषक बताउँछन् ।
छायानाथ रारा नगरपालिका– ५, लिउडीगाउँका कृषक रूपबहादुर सेजुवालले भेडाबाट हुने आम्दानीले स्थानीय कृषकलाई बालबालिकाको शिक्षादेखि स्वास्थ्य उपचारमा समेत सहज भएको बताए । भेटरिनरी तथा पशु अस्पतालको तथ्यांकअनुसार मुगुमा अहिले करिब ३१ हजार आठ सय १९ भेडा, ७१ हजार आठ सय ८० बाख्रा र एक सय ८० च्यांग्र्रा गरी जम्मा एक लाख तीन हजार आठ सय ७९ भेडा–बाख्रा रहेका छन् ।
मुगुका स्थानीय तहहरूले भेडापालनलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले जानकारी दिए । उनी भन्छन्, ‘भेडापालनलाई व्यवस्थित बनाउन कृषकलाई सोलार, ब्याट्री, त्रिपाललगायतका सामग्री निःशुल्क रूपमा वितरण गरेको र आगामी दिनमा समेत नगरपालिकाभित्रका वास्तविक भेडा पाल्ने कृषकलाई प्रोत्साहन गरिने कार्यक्रम छ ।’ यस्तै भेटरिनरी तथा पशु अस्पतालले पनि कृषकलाई सोलार सेट त्रिपाललगायतको सुविधा तथा ५० भन्दा बढी भेडा पाल्ने कृषकलाई ओैषधि उपचार खर्चबापत वार्षिक १८ हजार रुपैयाँ वितरण गर्दै आएको छ ।