शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै शनिबार दीप प्रज्वलन तथा पूजा गरिएको छ। बौद्ध धर्मगुरु क्याबगोंगमा शाक्य त्रिचेन रिन्पोछेले मायादेवी मन्दिरमा दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेका हुन्। दीप प्रज्वलनपश्चात् भएको कार्यक्रममा रिन्पोछेले लुम्बिनीबाट विश्वशान्तिको प्रयास गर्नुपर्ने बताए।
रिन्पोछेलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले भगवान बुद्धको जन्मस्थलमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले लुम्बिनीमा धर्मगुरु आउनु सुखद् भएको बताए। लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा कोरोनाका कारण रोकिएको पूजा पुन सञ्चालन भएकोमा खुसी व्यक्त गरिन्।
