एनपिएल : कर्णाली याक्सको लगातार दोस्रो जित

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

ओपनर देव खनाल र विलियम बासिस्टोको अर्धशतक प्रेरित कर्णाली याक्सले एनपिएलमा लगातार दोस्रो जित निकालेको छ। कर्णालीले विराटनगर किंग्सलाई ७ रनले हरायो। 

शनिबार कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय ३४ रनको लक्ष्य थियो। प्रत्युत्तरमा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र एक सय २६ रन बनायो। 

अन्तिम ओभरमा विराटनगरलाई १५ रन चाहिएको थियो। बलिङमा नन्दन यादव तथा क्रिजमा सन्दीप लामिछाने र प्रतिश जिसी थिए। नन्दनले मात्र ७ रन खर्चिएका थिए। शुक्रबार चितवनलाई ६ विकेटले हराएको कर्णाली पहिलो खेलमा जनकपुरसँग ८ तथा दोस्रो खेलमा काठमाडौंसँग ३ विकेटले पराजित भएको थियो। जितपछि कर्णालीको चार अंक भएको छ। 

विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेट तथा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको थियो। तेस्रो खेलमा लुम्बिनीविरुद्ध २ विकेटले विजयी भएको थियो। 

विराटनगरको लागि निकोलास किर्टन र दीपक बोहराले ४४ रनको साझेदारी गरेका थिए। नन्दन यादवले १७।१ ओभरमा १८ रन बनाएका दीपकलाई बोल्ड गरेका हुन्। नन्दनले तीन बलपछि नै ३९ बलमा चार चौका र एक छक्कासहित ४० रन बनाएका किर्टनलाई बोल्ड गर्दै कर्णालीलाई जिततर्फ डोहोर्याएका हुन्।

क्रिस सोललाई सोमपालले १९औँ ओभरमा डकआउट गराएका थिए। ओपनर लोकेश बमले १९ रन बनाए। यसबाहेक न्युजिल्यान्डका मार्टिन गुप्टिल, ओमानका अकिव इल्यान्स, नरेन भट्ट, बसिर अहमदले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीका लागि नन्दन यादवले तीन तथा स्पिनर विपिन शर्माले दुई विकेट हात पारे। विलियम बोसिस्टो, कप्तान सोमपाल र युनिस ठकुरीले समान एक विकेट हात पारेका थिए। 

पहिलो इनिङसमा तेस्रो विकेटको लागि ओपनर देव खनाल र चौथो नम्बर क्रिजमा पुगेका विलियम बोसिस्टोबीच १०३ रनको बलियो साझेदारी गरेका थिए । एनपिएलको एकै इनिङ्समा दुई खेलाडीले अर्धसतक बनाएको पहिलो पटक हो । दुई खेलाडीपछि कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

अस्ट्रेलियालाई यु१९ विश्वकपमा उपविजेता बनाएका ३१ वर्षीय दायाँ हाते बोसिस्टोले ४९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । उनले ३७ बलमा तीन चौका र २ छक्कासहित ५० रन बनाएका हुन् । आफ्नो दोस्रो खेलमै अर्धसतक बनाएका बोसिस्टो समग्रमा प्रतियोगितामा अर्धसतक बनाउने १४औं खेलाडी बनेको छन् ।  बोसिस्टोको अर्धसतकसँगै १६।३  ओभरमा चार विकेट गुमाउँदै कर्णालीले ११४ रन बनाएको थियो ।  

याक्सको लागि ओपनर देव खनालले ४८ बलमा चार चौका र २ छक्कासहित ५३ रन बनाए । देवले ४० बलमा चार चौका र २ छक्कासहित अर्धसतक बनाएका थिए । १२.६ ओभरमा देवले अर्धसतक बनाउँदा कर्णालीले दुई विकेट गुमाएर ९३ रन बनाएका थियो । यसअघि कर्णालीको लागि भारतीय चर्चित खेलाडी शिखर धवनले अर्धसतक बनाएका हुन् । यसअघि ओपनर शिखर धवन ५ रन तथा तेस्रो नम्बर क्रिजमा आएका वेष्ट इन्डिजका चाडविक वाल्टन १ रन बनाएर आउट भएका थिए । अक्सनमा सबै टोलीको नजरमा परेका गुल्शन झा गोल्डेन कडआउट भए । अर्जुन घर्ती पनि एक रन बनाएर मात्रै पेभिलियन फर्किएका थिए । 

विराटनगरका प्रतिश जिसीले सर्वाधिक चार विकेट लिए। उनले ४ ओभरमा एक मेडनसहित १७ रन खर्चिए। अन्तिम ओभर लिएर आएका प्रतिशले एक रनआउटसँगै थप दुई विकेट लिएका थिए। क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिँदा अकिव इल्यासको नाममा एक विकेट रह्यो। आज नै भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराउँदै लगातार तेस्रो जित निकालेको छ। आइतबार जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवनबिचको खेल रहेको छ।
 

सुझावित समाचार