७ लाख क्विन्टल धान किन्दै खाद्य कम्पनी, पालिकास्तरबाट चामल बेच्ने लक्ष्य

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

साना किसानले सस्तो भाउमा व्यापारीलाई धान बिक्री गरिसकेकाले न्यूनतम समर्थन मूल्यमा खाद्यलाई धान बिक्री गर्नेमा साहु र व्यापारीको संख्या धेरै, हालसम्म ९० हजार क्विन्टल खरिद 

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष सात लाख ३६ हजार दुई सय क्विन्टल धान खरिद गर्ने भएको छ । कम्पनीले धनगढी, महेन्द्रनगर, नेपालगन्ज, तुलसीपुर र राजापुर (बर्दिया) कार्यालयबाट खरिदसमेत थालेको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । 

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा कम्पनीले धान खरिद गर्ने गरेको छ । यो वर्षका लागि मोटा धान तीन हजार चार सय १० रुपैयाँ ५० पैसा र मध्यम धान तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा प्रतिक्विन्टल समर्थन मूल्य तोकिएको छ । सोही मूल्यमा धान खरिद भइरहेको न्यौपानेले जानकारी दिइन् । ‘अन्य धानको हकमा भने जिल्ला प्राथमिक खरिद  समितिले निर्धारण गरेको दर लागू हुने गरेको छ,’ उनले भनिन् । 

                                                                                 

कम्पनीले यो वर्ष सबैभन्दा धेरै धान खरिद गर्ने लक्ष्य राखेको हो । विगतमा पौने तीन लाख क्विन्टलसम्म मात्रै धान खरिद गरेको रेकर्ड छ । गत आवमा भने ४६ हजार टन मात्रै खरिद भएको थियो । अपुग परिमाण पूर्तिका लागि कम्पनीले चामल खरिद गरेको थियो । तर, यसपटक भने लक्ष्यअनुसार धान खरिद गर्न सबै कार्यालयलाई कडाइ गरेको न्यौपानेले जानकारी दिइन् ।

किसान, कृषि सहकारी र पालिका कार्यालयहरूलाई धान खरिदबारे जानकारी दिइरहेको उनले बताइन् । हालसम्म ९० हजार क्विन्टल खरिदसमेत भएको उनले 
जानकारी दिइन् ।

कोटा तोकेर धेरै धान खरिद गर्न निर्देशन
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली कार्यालयलाई १५–१५ हजार क्विन्टल खरिदको लक्ष्य दिइएको छ ।

लुम्बिनी प्रदेशको बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही कार्यालयलाई कुल दुई लाख ६ हजार क्विन्टल खरिदको जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशको नवलपरासी (पूर्व र पश्चिम) र कास्कीमा १८ हजार पाँच सय, बागमतीको चितवन र मकवानपुरमा २० हजार क्विन्टल धान खरिदका लागि कोटा तोकिएको छ । अन्न भण्डारका रूपमा परिचित मधेश प्रदेशका आठै जिल्लाबाट कुल एक लाख ९९ हजार र कोशीको उदयपुर, सुनसरी, झापा र मोरङ कार्यालयबाट कुल एक लाख १८ हजार क्विन्टल खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । जुम्लाको सिँजा, खलंगा कार्यालयबाट पनि दुई सय क्विन्टल खरिदको लक्ष्य राखिएको छ ।

किसानको धान व्यापारीले बेच्छन्
खाद्य कम्पनीले बर्सेनि किसानले धान कटानी गरिसकेपछि खरिद गर्ने गरेको छ । जसकारण वास्तविक किसानबाट नभई व्यवसायीबाट न्यूनतम समर्थन मूल्यमा खाद्यले धान खरिद गर्ने गरेको छ । यसपटक पनि पश्चिमका पाँच क्षेत्रमा मात्र अहिलेसम्म खरिद प्रक्रिया अघि बढाइएको छ । गण्डकी, बागमती, मधेश र कोशीमा किसानले धान भिœयाइसके पनि खाद्यले खरिद प्रक्रिया सुरु गरेको छैन ।

समर्थन मूल्यभन्दा न्यून भाउमा व्यापारीलाई धान बिक्री गर्न किसान बाध्य छन् । खाद्य कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले किसानको खेतसम्मै पुगेर खरिद गर्न नसकिने र पूर्वमा भर्खर धान भित्र्याउन  थालेकाले खरिद प्रक्रिया सुरु नभएको बताइन् ।

‘पूर्वका किसानले भर्खर धान भित्र्याउन थालेका छन् । अब चाँडै त्यता पनि खरिद प्रक्रिया थाल्छौँ,’ उनले भनिन्, ‘सकेसम्म किसान र कृषि सहकारीलाई प्राथमिकता दिएर खरिद कार्य अघि बढाएका छौँ ।’

पालिकास्तरबाट चामल बिक्रीको लक्ष्य
खाद्यले धानबाहेक ६७ हजार तीन सय ९५ क्विन्टल चामल पनि खरिद गर्दै छ । यो वर्ष कुल सवा लाख चामल बिक्रीको लक्ष्य राखिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् । त्यसमध्ये ३३ हजार क्विन्टल ‘इमर्जेन्सी’का लागि नियमित रूपले मौज्दात राख्ने व्यवस्था छ । यसपटक सबै पालिकासँग समन्वय गरेर चामल बिक्री गर्ने योजना रहेको उनले जानकारी दिइन् । ‘खाद्य कम्पनीले पालिकाको केन्द्रसम्म चामल ढुवानी गरिदिने र त्यहाँबाट पालिकाको समन्वयमा बिक्री गर्ने योजनामा छौँ,’ न्यौपानेले भनिन्, ‘यसबाहेक मातहतका कार्यालयबाट नियमित रूपमा खरिद–बिक्री भइहाल्छ ।’
 

सुझावित समाचार