सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण

स्कटल्यान्डका खेलाडी ब्रान्डन म्याकमुलनको अर्धशतककाे मद्दतमा सुदूरपश्चिम रोयल्सले एनपिएलको नवौँ खेलमा काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बिहीबार कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १६७ रन बनाएको हो । 

स्कटल्यान्डका २५ वर्षीय दायाँहाते ब्याटरले ३६ बलमा सर्वाधिक ५३ रन बनाए । उनले ३२ बलमा तीन चौका र चार छक्कासहित अर्धशतक बनाएका हुन्। ओपनर विनोद भण्डारीले सहाब आलमसँग एलबिडब्लू धरापमा पर्नुअघि २८ बलमा ३५ रन बनाए । दोस्रो विकेटका लागि विनोद र म्याकमुलनले ८७ रनको साझेदारी गरेपछि सुदूरपश्चिम बलियो स्कोरतर्फ बढेको थियो । 

चौथो नम्बर क्रिजमा आएका कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा ४३ रनको योगदान गरे । तीन चौका र चार छक्का प्रहार गरेका दीपेन्द्रलाई करण केसीले माइकल लेभिटबाट क्याचआउट गराए । 

ओपनर सैफ जाइवले ११ रनको योगदान गरे । पहिलो खेल खेलेका युएईका रोहन मुस्तफा पनि चार रन बनाएर आउट भए। मध्यक्रमका आरिफ शेख तीन रन बनाएर रनआउट भए।

काठमाडौंका रसिद खानले दुई विकेट लिएका हुन् । साहव आलम, जेरार्ड इरास्मस र करणले समान एक विकेट हात पारे ।

प्रतियोगितामा सुदूरपश्चिम लगातार दोस्रो जितको दाउमा छ। तेस्राे खेल खेलिरहँदा एक खेल हारेकाे काठमाडौं पनि दाेस्राे जित निकाल्दै अंक सुधार्न चाहन्छ। 

आज नै भएको खेलमा जनकपुरले पोखरालाई सात विकेटले हराउँदै तेस्रो जित निकालेको छ । निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्यो ।

सुझावित समाचार