पाटन संयुक्त क्याम्पसमा स्नातक तह विज्ञान संकायको बिएस्सी–सिएसआइटी कार्यक्रममा मेरिट मिचेर भर्ना गरिएका ३० जना विद्यार्थीको भर्ना रद्द गरी मेरिटअनुसार पुनः भर्ना गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ । त्रिवि विज्ञान संकायका सहायक डिन खगेश्वर मण्डलको संयोजकत्वमा बनेको छानबिन समितिले मेरिट मिचेको ठहर गर्दै ३० जनाको भर्ना रद्द गरी मेरिटअनुसार नै पुनः भर्ना गर्न निर्देशन दिएको हो ।
१७ मंसिरमा छानबिन समितिले निर्देशनसहितको प्रतिवेदन बुझाए पनि क्याम्पसले मेरिटका आधारमा भर्ना प्रक्रिया अझै अघि बढाएको छैन । कक्षा सञ्चालन भइसकेको भन्दै क्याम्पसले डिन कार्यालयबाट आएको निर्देशन अटेर गरेको हो । ‘हामीले ३० जनाको भर्ना रद्द गरी जहाँ समस्या भएको हो त्यहीँबाट फेरि मेरिटकै आधारमा भर्ना गर्न निर्देशन दिँदै प्रतिवेदन बुझाइसकेका छौँ, अब बाँकी काम क्याम्पसले नै गर्ने हो,’ सहायक डिन मण्डलले भने, ‘छानबिन समितिले दिएको निष्कर्ष कार्यान्वयन हुनैपर्छ ।’ उनका अनुसार अनुसन्धानका क्रममा मेरिट मिचेको फेला परेपछि सच्याउन निर्देशन दिइएको हो । अब प्रवेश परीक्षा लिँदा जसको अंक बढी आएको छ वा जो अगाडि छ उसैले पालो पाउँछ । बिचमा कुनै पनि विद्यार्थी घुसाउन पाइँदैन ।
क्याम्पसले मेरिट मिचेर भर्ना गरेपछि पीडित विद्यार्थीले विरोध गर्दै त्रिवि उपकुलपति कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा मन्त्रालयलगायतमा उजुरी दिएका थिए । अख्तियारले १३ मंसिरमै छानबिन गरी मेरिटकै आधारमा भर्ना गर्न उपकुलपति कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि उपकुलपति कार्यालयले पाटन क्याम्पसको स्थलगत अध्ययन गरी विज्ञान संकायका सहायक डिनको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिले १७ मंसिरमा प्रतिवेदन तयार पारी कार्यान्वयनका लागि क्याम्पसलाई पठाएको थियो ।
प्रतिवेदनको निर्देशन कार्यान्वयन भए–नभएकोबारे बुझ्नका निमित्त क्याम्पस प्रमुख उषा जोशीलाई सम्पर्क गर्दा उनको फोन उठेन । क्याम्पसका स्ववियु सभापति सुशील विष्टले भने छानबिन समितिको पत्र क्याम्पसमा नआएको बताए । ‘समितिको पत्र क्याम्पसमा आएको छैन,’ उनले भने, ‘पत्र आएको भए मलाई थाहा हुन्थ्यो ।’
बिएस्सी–सिएसआइटी कार्यक्रममा क्याम्पस प्रमुख, स्ववियु सभापति, डिन, बिएस्सी–सिएसआइटी कार्यक्रम संयोजकलगायतको मिलेमतोमा ३० जना विद्यार्थीलाई मेरिट मिचेर भर्ना गरिएको थियो । आफूनिकट विद्यार्थी भर्ना गर्न उनीहरूले दसैँ–तिहारको बिचमा ‘फस्ट कम, फस्ट सर्भिस’ नियम लागू गरेका थिए । क्याम्पसले यस कार्यक्रममा हरेक वर्ष १४४ सिटमा विद्यार्थी भर्ना गर्दै आएको छ । यस वर्ष १४ असोजमा विद्यार्थीलाई उक्त कार्यक्रमको छनोट प्रक्रियामा सहभागिताका लागि प्रवेश परीक्षामा सामेल हुन सूचना जारी गरिएको थियो । लगत्तै चार चरणमा छनोट गर्दा ११४ विद्यार्थी मात्रै भर्नायोग्य भएका थिए ।
पटक–पटक प्रवेश परीक्षा र छनोट प्रक्रियामा जाँदा झन्झट हुने भन्दै क्याम्पससहितका निकायले मिलेमतोमा दसैँलगत्तै ‘फस्ट कम, फस्ट सर्भिस’का आधारमा थप ३० जना विद्यार्थी भर्ना गरिएको थियो । क्याम्पसले ‘फस्ट कम...’ का आधारमा भर्ना गरेर मेरिटमा परेका विद्यार्थीमाथि अन्याय गरेपछि विद्यार्थीहरू न्यायका लागि अख्तियार, उपकुलपति कार्यालयलगायत ठाउँमा पुगेका थिए ।
पाटन संयुक्त क्याम्पसमा यो कार्यक्रम पढाइ हुन थालेको सात वर्षभन्दा बढी भइसकेको छ । पछिल्ला वर्षमा विद्यार्थी बढी भएको भन्दै क्याम्पसले सिट संख्या बढाउन डिन कार्यालयलाई अनुरोध गर्दै आएको छ । तर, डिन कार्यालय यसमा सहमत छैन । बिएस्सी–सिएसआइटी कार्यक्रम निजीमा निकै महँगो हुने भएकाले विद्यार्थी सरकारी क्याम्पस नै रोज्छन् । पाटन क्याम्पसले ८ सेमेस्टरको कार्यक्रम दुई लाख ८० हजारमा पढाउँदै आइरहेको छ । तर, यही कार्यक्रम निजी क्याम्पसमा सात लाखहाराहारी लाग्छ ।