तीन ठुला दलले गरे उपनिर्वाचनको समीक्षा

बुधबार, १९ मंसिर, २०८१
डिजिटल संस्करण

१६ मंसिरमा सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजालाई लिएर प्रमुख तीन ठुला दल कांग्रेस, एमाले र माओवादी समीक्षामा जुटेका छन् । प्रारम्भिक समीक्षाअनुसार सत्तारूढ कांग्रेसले संख्या घटे पनि विनागठबन्धन प्राप्त परिणाम उपलब्धिमूलक भनेको छ । सत्ताको नेतृत्व गरिरहेको एमालेले पदाधिकारीमा उपलब्धि हासिल भए पनि अपेक्षित नतिजा हात पार्न नसकेको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी माओवादीले भने उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा नयाँ संकल्पका रूपमा लिँदा सफलता हात पारेको प्रारम्भिक समीक्षा गरेको छ ।

कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजक महामन्त्री विश्वप्रकाश शर्माले संख्यागत रूपमा विगतको भन्दा कम जित हासिल गरे पनि गठबन्धनविना प्राप्त परिणाम सन्तोषजनक एवं उत्साहवद्र्धक भएको निष्कर्ष निकालेका हुन् । उपनिर्वाचन भएका ४४ मध्ये १९ स्थानमा कांग्रेस उम्मेदवार विजयी भएका थिए । ‘प्रारम्भिक समीक्षामा एक्लै लडेर प्राप्त स्थानलाई हामीले सन्तोषजनक एवं उत्साहवद्र्धक संकेतका रूपमा लिएका छौँ,’ शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘रिक्त ४४ मध्ये १९ स्थानमा कांग्रेसका उम्मेदवार विजयी भए । समग्रमा यो ४३.१८ प्रतिशत हो । ०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थानभन्दा एक्लै लडेर प्राप्त स्थान संख्यात्मक कम, तर राजनीतिक, सांगठनिक र गुणात्मक रूपले बढी महत्वपूर्ण छ ।’ 

शर्माले ०७९ मा विजयी भएका केही स्थान गुमाए पनि अन्य दलले जितेका स्थानमा निकालेको परिणामलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गरेका छन् । उपनिर्वाचनको समीक्षा गरी आगामी निर्वाचनमा रणनीति निर्माणका लागि उपनिर्वाचन महत्वपूर्ण भएको कांग्रेसको ठहर छ । त्यस्तै, उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीतिलाई मतदाताले परास्त गरेको कांग्रेसको ठहर छ । कांग्रेसले दुई जिसस प्रमुखसहित कुल १९ स्थानमा जित निकालेको थियो । समग्र परिणाममा कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले आठ सिटमा क्षति व्यहोरेको छ । कांग्रेसले कीर्तिपुर नगरपालिकामा जित दोहोर्याए पनि अरू केही पालिका प्रमुख र उपप्रमुख भने गुमाएको छ । यसअघि जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा जित निकालेको कांग्रेसले यसपटक सिट जोगाउन सकेन । कांग्रेसले मोरङको ग्रामथाम गाउँपालिका जोगाउन सकेन । अघिल्लोपटक सो गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो । दैलेखको महाबु गाउँपालिका एमालेको पोल्टामा पर्यो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमाले विजयी बन्यो । 

एमालेले अपेक्षित नतिजा बिग्रिएको स्विकार्दै स्थानीय तह उपनिर्वाचनको परिणामको समग्र समीक्षा गर्ने भएको छ । निर्वाचन भएका ४४ स्थानमध्ये अधिकतम ५० प्रतिशत संख्यामा जित हासिल गर्ने लक्ष्यसहित तलबाटै सर्वसम्मत छिटो उम्मेदवार टुंग्याएर चुनावी नतिजा पक्षमा पार्ने दाबीसहित एमाले चुनावमा होमिएको थियो । तर, रिक्त रहेका स्थानमध्ये पालिकाको एक प्रमुख र दुई उपप्रमुखमा नयाँ जित हासिल गरे पनि वडाको नेतृत्वमा अघिल्लो पटकभन्दा एमालेले कम संख्या जितेको छ ।

एमाले महासचिव शंकर पोखरेलले स्थानीय कमिटीको योजना र अपेक्षाअनुरूप चुनावी परिणाम आउन नसकेको बताएका छन् । विशेषगरी काठमाडौंमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिए पनि त्यो पूरा हुन नसकेको उनको भनाइ छ । ‘अझै पनि सहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन सकेको देखिँदैन । त्यसमाथि पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको एमाले र त्यसको नेतृत्वविरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ,’ मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन् । उपनिर्वाचनमा पहिले जितेका सिटमा देखिएको परिवर्तन भने आश्चर्यजनक रहेको उनको टिप्पणी छ । ‘एमालेले विगतमा जितेका सात वडाध्यक्षमध्ये एक सिट मात्र कायम राख्न सक्यो । माओवादीले विगतमा जितेका ६ वडाध्यक्षमध्ये पूर्वी रुकुमलाई छाडेर सबै गुमाउन पुग्यो । कांग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारीमध्ये कीर्तिपुरलाई छाडेर सबै गुमाउन पुग्यो । यसबाट जनप्रतिनिधिको भूमिकाप्रति स्थानीय जनता सन्तुष्ट नभएको देखिन्छ । यसबाट जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ,’ उनले भनेका छन् ।

प्रमुख प्रतिपक्ष दल माओवादीले उपनिर्वाचनमा पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानलाई जनताले अनुमोदन गरेको पुष्टि भएको जनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको परिणाम उत्साहजनक रहेको टिप्पणी गरेका छन् । ‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ,’ उनले भनेका छन्, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियान जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।’ माओवादीले यसअघि कांग्रेसले जितेको मोरङको ग्रामथाम गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पनि जितेको छ । उसले वडाध्यक्ष पद आठवटा जितेको छ ।

सुझावित समाचार