इंग्ल्यान्डका पूर्वअलराउन्डर रवि बोपराको अर्धशतक प्रेरित चितवन एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६१ रन बनायो।
चौथो विकेटका लागि रवि बोपरा र कप्तान कुशल मल्लले ६८ रनको बलियो साझेदारी गरेपछि चितवनले मध्यम स्कोर खडा गरेकाे हाे। पोखराका लागि अलराउन्डर रवि बोपराले अर्धशतक बनाए।
इंग्ल्यान्डका ३९ वर्षीय अलराउन्डरले ३८ बलमा सर्वाधिक ५१ रन बनाएका हुन्। यसअघि उनले ३६ बलमा समान तीन चौका र छक्कासहित अर्धशतक बनाएका थिए। उनले अर्धशतक बनाउँदा चितवनले १५.१ ओभरमा चार विकेट गुमाउँदै १२८ रन बनाएको थियो।
आइपिएलमा किंग्स ११ पञ्जाव र दिल्ली क्यापिटल्सबाट खेलिसकेका उनले इंग्ल्यान्डका लागि १३ टेस्ट, १२० एकदिवसीय र ३८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
त्यस्तै, कप्तान कुशल मल्लले २३ बलमा एक चौका र ४ छक्कासहित ३८ रन बनाए। लुक बेन्केनस्टेनले १६ तथा ओपनर हसन इसाकिलले १४ रन बनाए । ओपनर दीपक बोहरा दुई रन, सन्तोष कार्कीले ११, पाकिस्तानका साहेल तनविर डकआउट, शरद भेषवाकरले अविजित ११ तथा अमर रौटेलाले अविजित १३ रन बनाएका हुन्।
पोखरा एभेन्जर्स विपक्षीविरुद्ध आठ बलर प्रयोग गरेको थियो । बिपिन खत्री, नेदरल्यान्ड्सका बास डि लिडे र ३३ वर्षीय वेस्ट इन्डिजका रेयमन रेइफरले समान दुई विकेट हात पारे । सागर ढकालको नाममा एक विकेट रह्यो।
आज नै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो।
टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै कीर्तिमानी १८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदा अलआउट भयो।
बुधबार कर्णाली याक्स र काठमाडौं गुर्खाज बिहान तथा विराटनगर किंग्स र लुम्बिनी लायन्सबिच दिउँसो खेल हुने तालिका छ।